कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले श्रीमतीको लागी घर लगेको सरकारी स्कुटर नगरपालिकालाई फिर्ता गरेका छन् । उनले बुधबार सरकारी स्कुटर नगरपालिकामै फिर्ता गरेका हुन् ।
नगरपालिकाको सरकारी स्कुटर पदको दुरुपयोग गर्दै मेयरले तीन महिना अघि श्रीमतीका लागि घर लगेका हुन् । उनले आफ्नो निवासमा लगेर राखेको स्कुटर बुधबार एकाएक नगरपालिका परिसरमा देखिएको नगरपालिकाकी एक कर्मचारीले बताइन् । सरकारी स्कुटर फिर्ता भएको सूचनासँगै सिधाकुराको टिम नगरपालिका पुग्दा उक्त स्कुटर नगरपालिकाको पार्किङमा राखेको भेटिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीले समेत नगरप्रमुखले उक्त सरकारी स्कुटर फिर्ता गरेको बताए । ‘म केहि दिन काठमाडौँमा थिएँ । नगरप्रमुखले स्कुटर घर लगेको विषयमा समाचार प्रकाशित भएको रहेछ । नगरप्रमुख जस्तो व्यक्तिले आफ्नो व्यवसायीक र व्यक्तिगत प्रयोजनमा सरकारी सम्पत्ति दुरुपयोग गर्नु राम्रो विषय होइन् । नगरप्रमुखले बुधबार स्कुटर फिर्ता गर्नुभएको छ ।’, अधिकृत भण्डारीले बताए ।
नगरपालिकाको सरकारी नम्बर प्लेट भएको सुप. प्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर आफ्नी श्रीमतीलाई दैनिक कामकाजमा सजिलो होस भन्ने उद्देश्यले नगरप्रमुख रावतले घर लगेको विषय सिधाकुरा डट कममा प्रकाशन भएको थियो । मेयरकी श्रीमतीले छोरालाई स्कुल पुर्याउनदेखि बिमा पोलिसी खोज्न लगायतका व्यक्तिगत काममा समेत सोही स्कुटर प्रयोग गरेको खुलासा भएको थियो । समाचार प्रकाशन भएसँगै नगरप्रमुखको तिव्र आलोचना भएको थियो । आफ्नो तिव्र आलोचना भएसँगै नगरप्रमुख रावतले स्कुटर फिर्ता गरेका हुन् ।
सम्बन्धित समाचार :