७ भदौ काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनमा २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । सीआईबीले प्रतिवादी बनाउन सिफारिस गरेकामध्ये २१ जनाको भने मृत्यु भइसकेको पाइएको छ । उनीहरुको हकमा सम्पत्तिबाट बिगो भराउन सीआईबीले राय दिएको छ ।
सीआईबीले मंगलबार ललितानिवास प्रकरणको राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो ।
सिआईबीले यो प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव कुमार नेपालसँग पनि बयान लिएको थियो । तर उनीहरुलाई भने सीआईबीले प्रतिवादी बनाउनुपर्ने राय दिएको छैन ।
यद्यपी सीआईबीले भूमि सुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव रवीन्द्रमान जोशी, दिनेशहरि अधिकारी, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव युवराज भुसाल, पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह लगायतलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
अनुसन्धान सीआईबीले गरेपनि मुद्दा अभियोजन गर्ने अधिकार भने सरकारी वकिलको कार्यालयलाई हुन्छ । सरकारी वकिलको कार्यालयले हाल उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ । कर्यालयले केही दिन भित्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।