काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीको घटनामा गृह प्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् ।
सिंहदरबारमा जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानले गृह मन्त्रालयको नेतृत्वमा देखिएको कमजोरीले रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गरेको बताए ।
लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्दै भने, ‘साढे २ हजार भिडलाई नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तर तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भिरतापूर्वक लिँदैन । तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न । मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौं । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ । त्यो भेटिँदैन । म त्यता जान चाहन्न ।’
लामिछानेले भने ‘सीडीओको आदेशविना नै गोली हानियो भन्ने कुरा आएपछि त्यसलाई निलम्बन गर्नुहुन्छ ? कि हिरासतमा राख्नुहुन्छ ? कानूनले के भन्छ ? तपाईंहरूले जहिले पनि सानो दर्जाको कर्मचारीलाई बलि चढाउने काम गर्नुभएको छ ।’
लामिछानेले पुर्वाधार मन्त्री प्रकाश ज्वाला माथि पनि प्रश्न उठाए । उनले घटनाको विषयमा ढाँटेको रविको गुनासो थियो । बालकुमारी घटनामा प्रहरीको गोली लागेर अछामको विरेन्द्र शाह र प्रहारबाट दैलेखका सुजन रावतको ज्यान गएको थियो ।