काठमाडौंँ । अनुमतिबाहक पथ प्रर्दशकका रुपमा म झण्डै ३० पटक सगरमाथा आधार क्षेत्र पुगिसकेको छु । यस दौरान मेरा आँखामा विश्वको सर्वोच्च शिखर सगरमाथा र यस क्षेत्रका हिमालका कयौँ दृश्यहरु कैद भएका छन् । तर, गत साताको मेरो यात्रामा मैले सगमाथालाई जसरी देख्न पाएँ, यो मेरो लागि पनि शौभाग्य र दुर्लभ थियो । हिमालका दृश्यलाई कसरी हेर्ने ? बिहान झुल्के घाममा, दिउँसो बादलुले लुकामारी खेल्नै गर्दा वा बेलुकीको सूर्याअस्तमा ?
हिमाल र नेपालको पर्यटन क्षेत्रअनुसार यसका फरक फरक विशेषताहरु छन् । पर्यटनको क्षेत्र हेरेर मात्रै म यस्तो धारणा बनाउँछु र मेरो पर्यटक साथीहरुलाई पनि त्यही सिकाउँछु/देखाउँछु । हरेक पटक सगरमाथा क्षेत्रको यात्रामा पुग्दा म सगरमाथालाई कालापत्थरकाे डीलमा उभिएर साँझको सूर्यस्तमा हेर्न रुचाउँछु । तर, यस्तो सौभाग्य निकै लामो समयदेखि पाउन सकिरहेको थिइँन ।
सगरमाथाको दुर्लभ दृश्यका लागि यसअघि पनि म सबै तयारी गरेर माइनस २८ डिग्रीको तापक्रममा कालापत्थर पुग्थेँ । तर, बादलले ढाकेको पहाड हरेर फर्कन्थेँ । त्यो पनि एक पटक होइन पटक–पटक । म गत माघ २१ गते काठमाडौँबाट सगरमाथा क्षेत्रको यत्राका लागि लुक्ला उडेँ । अष्ट्रेलियाका २ जना पर्यटकसहितको मेरो यात्रा लुक्ला–नाम्चे–बेशक्याम्प–कालापत्थर–लुक्ला–काठमाडौँसम्मको १२ दिनको थियो । यात्राको ८ औँ दिन हामी लाेबुचेबाट गोरखसेफ पुगेर बेसक्याम्प पुगेर पुनः गोरखसेफ फर्कियौैँ ।
म कहिल्यै माउन्ट एभरेस्ट (सगरमाथाको ) दृश्य हेर्न बिहान जाँदिन् । किनभने मलाई थाहा छ बिहानको समयमा सगरमाथा साविकको दृश्य मात्र देखिन्छ । साँझ घाम डुब्ने समयमा कालापत्थरमा उभिएर शिर ठड्याउँदा सगरमाथाले स्वर्गानुभूति दिन्छ । अहिलेको समय ट्रेकिङका लागि उपयुक्त समय होइन । तर, सिजन सुरु हुनै लाग्दा कहिलेकाँही हिमालमा सुनौलो रङ्ग भेटिन्छ ।
यसैअनुसार म माघ २८ गते साँझ ४ बजे आफ्नो टोलीसँग सगरमाथाको दक्षिणी मोहोडा हेर्न कालापत्थर पुगेँ । माइनस २८ डिग्रीको तापक्रम, बेजोड हावाको वेग अर्कोतर्फ साँझ पर्नै लागेको बेला । हरेक मिनेट मिनेटमा परिवर्तन हुने सगरमाथा क्षेत्रको मौषम । सगरमाथा खुल्ने नखुल्नेबारे अनु्मान समेत लगाउने अवस्था थिएन । प्रतिकुल मौसमका कारण मसंगै गएका अष्ट्रेलियाली पर्यटक कालापथ्थरको हेलीप्याडबाट होटल फर्किए तर म अर्का एक सहयोगीको साथमा कालापत्थरमा धैर्यसाथ बसेँ ।
म सँग ३ वटा मोबाइलहरु थिए ताकि चिसोका कारण क्षणभरमै सकिने ब्याट्रीको समस्या चिरेर सगरमाथा खिच्न सकुँ । नभन्दै भयो पनि यस्तै, राम्रै ब्याट्री ब्याकअप भएको २ वटा मोबाइल अफ भए । रह्यो एउटा मात्रै फोन र सगरमाथा खुल्ने आस । हातले मोबाइल समाउन सक्ने अवस्था थिएन । हिमालमा चढ्ने लौरोमा मोबाइल बाँधे, ढुंगाको सहायतामा त्यसलाई अड्काएँ ।
यो म जस्तै त्यो क्षेत्रको यात्रामा जाने जो कसैको अनुभव पनि हो । तर, यस पटक मैलै झण्डै एक दशक देखि कुरेको र कयौँ वर्षदेखि पाकाहले भनेको सगरमाथाको दृश्य मेरा आँखा अगाडी केही मिनेटका लागि उभिए । २०८० माघ २८ गते बेलुकाको ५ बजेर ३८ मिनेट जाँदा म कालापत्थरको डीलमा पुगेँ । जम्मा जम्मी २ मिनेटका लागि सगरमाथाले बादलुको घुम्टो खोल्यो । त्यो घुम्टो, त्यो दिनको अन्तिम सूर्यको किरण थियो जो विश्वको सर्वोच्च शिखरमा ठोक्किएर भोलिका लागि उदाउने प्रण गर्दै अस्त हुँदै थियो । यो भूगोलबाट त्यो दिनका लागि अस्त भएको सूर्यको अन्तिम किरणले सगरमाथा सुनौलो भएको थियो । कालो पहाडमाथि सेतो हिउँ र बादलमा देखिने सगरमाथा त्यो दिन केही मिनेटका लागि सुर्यका किरणहरुसँग स्पर्श गर्दै थियो । यही सुनौलो सगरमाथाको दृश्यमा मैले मेरो जीवनका केही सुनौला पलहरु बिताएँ । जो तस्विर कथामा म यहाँ प्रस्तुत गर्न चाहान्छु ।