काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले विरोध प्रदर्शन चर्काएको छ । सहकारी प्रकरण देखाएर राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको भन्दै सोमबार पनि पोखरा र चितवनमा प्रदर्शन भैरहेको छ ।
अहिले पोखराको पृथ्वीचोकबाट सुरु भएको प्रदर्शन चिफ्लेढुंगातिर अघि बढेको छ । ठुलो संख्यामा सहभागी भएपनि आजको प्रदर्शन शान्तिपूर्ण देखिएको छ । प्रदर्शनका क्रममा सहभागीहरुले प्लेकार्ड सहित पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद,रवि दाई हाइ हाई लगायतका नारा लगाइरहेका छन् ।
चितवनमा पनि आजबाट प्रदर्शन सुरु भएको छ । लामिछानेको निर्वाचन क्षेत्रमा अबको प्रदर्शन चर्काउने रास्वपा चितवनका नेताहरुले बताएका छन् । लामिछानेलाई शुक्रबार सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पार्टी कार्यालयबाटै गिरफ्तारी दिएका थिए । उनलाई आइतबारबाट अनुसन्धानका लागि कास्की जिल्ला अदालतले ३ दिनको म्याद थप गरेको छ ।