कास्की : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
कार्यालय प्रमुख तिमल्सिनाले आव २०७९/८० मा छानविनमा रहेका कूल एक हजार चार सय ४२ उजुरीमध्ये नौ सय ७८ उजुरी फछ्र्यौट भई चालु आवका लागि चार सय ६४ उजुरी जिम्मेवारी सरेर आएको जानकारी दिए । उजुरी परेका क्षेत्रमध्ये सङ्घीय मामिला (स्थानीय तहसमेत) का ३५ दशमलव ९५ प्रतिशत, शिक्षा (स्थानीय तह समेतका) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित छ दशमलव ०९ प्रतिशतलगायत रहेको उनको भनाइ छ ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा विस्तृत अनुसन्धानबाट भएको कारबाहीअन्तर्गत एक सय ६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय भएको कार्यालय प्रमुख तिमल्सिनाले बताए । दायर मुद्दामध्ये सबैभन्दा बढी ६४ मुद्दा गैरकानुनी लाभहानीसंग सम्बन्धित छन्।
उक्त क्रममा प्रदेश प्रमुख गुरुङले सबै आधार जुटाएर कारबाही बढाउनुपर्ने कार्य चुनौतीपूर्ण भए पनि संविधान र व्यवस्थाप्रति जनताको आस्था जगाउने गरी काममा क्रियाशील हुन आग्रह गरे।