मुगु : मुगुकी दलित महिला स्वास्थ्यकर्मीलाई यौन हिंसा गरेको आरोपमा मुगुको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।
उनले मुगुको सोरु गाउँपालिका–९ स्थित खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसी कुमारी विश्वकर्मालाई यौन हिंसा गरेको आरोप छ । उनै स्वास्थ्यकर्मी विकले मल्लविरुद्ध जिल्ला अदालत मुगुमा यौन हिंसाको मुद्दा दिएकी हुन्।
केही दिनअघि मात्र तुलसीले जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालासँग तुलसीले दुख बिसाउँदै भनेकी थिइन्, ‘शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै भेट्न आउँछु भन्थे ।’
त्यस्तै मल्लले मात्रै होइन गाउँ का अन्य युवाहरूले समेत बिरामी बहाना गराएर मध्यरातमा फोन गर्ने, रक्सी खाएर यौन प्रस्ताव गर्दै मानसिक तनाव दिनेगरेको बताएकी थिइन् ।
यसअघि नै उनीविरुद्ध जातीय विभेद गरेको आरोपमा खनैयाँ स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र किराना पसल सञ्चालन गर्ने धनप्रसाद भट्ट पक्राउ परेको थिए । उनीहरुलाई हाल हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।