पश्चिम नवलपरासी : संघर्षरत मिटरब्याज पीडितहरू पैदलयात्रा गर्दै पश्चिम नवलपरासी आइपुगेका छन । न्यायको माग गर्दै मार्चपास सुरु गरेका मिटरब्याज पीडित १२ औँ दिनमा पश्चिम नवलपरासी आइपुगेका हुन् ।
माघ १६ गते कञ्चनपुरको गड्डाचौकीबाट पैदल यात्रा सुरु गरेका उनीहरु करिब ४ सय ५० किलोमिटरको लामो दूरी पार गरेर यहाँ आइपुगेका हुन् ।
संघर्ष समितिले मिटर ब्याज सम्बन्धी कानून संशोधन र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै मेची–महाकालीबाट एक साथ पैदल यात्रा सुरु गरेको हो । उक्त आन्दोलनमा पूर्वबाट ७० जनाको टोली आएको छ भने पश्चिमबाट ३५ जनाको टोलीले यात्रा सुरु गरेको हो । पूर्वको कमान्ड अध्यक्ष अवधेश कुमार कुशवाहले गरेका छन भने पश्चिमको कमान्ड प्रवक्ता निर्ग नविनले गरेका छन । पूर्व र पश्चिमको टोली चौधौँ दिनमा नवलपरासीको बर्दघाटबाट यात्रा सुरु गरी चितवनमा भेट भएर काठमाडौँको यात्रा तय गर्ने तयारी भएको केन्द्रिय उपाध्यक्ष कुल बहादुर थापाले बताए ।
जाँचबुझ आयोगबाट पनि आफूहरूले न्याय नपाएको भन्दै निर्णायक आन्दोलनका लागि मार्चपासमा निस्किएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनको भनाई छ । उनले आफूहरूलाई सरकारले न्याय दिनुको सट्टा आफ्नो भातृ सङ्गठनलाई जागिर दिने मनसायले अधिकार विहीन आयोग गठन गरेर आफूहरूलाई खेलौना बनाएको आरोप लगाए । त्यस्तै उनले यस आन्दोलनले यदि काठमाडौँबाट खाली हात फर्कनुपरेमा नेताहरूलाई सिंहदरबारबाट निस्केर गाउँ प्रवेशमा रोक लगाउने चेतावनी समेत दिएका छन् ।