काठमाडौँ । सुख्खा मौसम बढ्दै जादाँ देशभर आगलागीको घटनामा बढिरहेका छन् । पछिल्लो १६ दिनमा १२ जना व्यक्तिले मृत्युवरण गरेका छन् भने, झण्डै ४८ जना घाईते भएका छन् ।
प्रहरी प्रधान कार्यालय अन्तर्गत देशभरका प्रहरी कार्यालयमा आएको रेकर्ड अनुसार १६ दिनमा ७ सय ९२ वटा आगलागीको घटना भएको छ । जसमा १२ जनाको मृत्यु भएको छ भने, ४८ जना घाईते भएका छन् । यसैगरी आगलागीले देशभरबाट ४ सय २३ वटा चौपायाको मृत्यु भएको छ भने २ सय ६० गोठमा क्षति पुगेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले बताए ।
उनका अनुसार आगलागीबाट बच्ने र घटना भए तत्काल प्रहरी परिचालन गर्ने लगायत सबै जिल्लामा सन्यन्त्र बनाइएको छ । हरेक प्रहरी युनिट सम्वद्ध जिल्ला दैविक प्रकोप तयारी अवस्थामा रहेको छ । हिँउद तथा गर्मीयामको सुख्खा मौसममा वन जङ्गलमा डढेलो लाग्ने सम्भावना अधिक भएकाले सुख्खा याममा हुनसक्ने आगलागीबाट बच्ने उपाय, अग्नी नियन्त्रणको पूर्वतयारी सम्बन्धमा सम्बन्धित स्थानीय तह तथा सरोकारवालालाई अवगत गराएको उनले बताए । आगलागी नियन्त्रणका लागी प्रहरी २४ सौँ घण्टा तयार रहेको प्रवक्ता ढकालले बताए ।