९ भदौ सुनसरी । हिन्दु धर्म समर्थकहरुले आज धरानमा निषेधित क्षेत्रभन्दा बाहिर शान्तीपूर्ण र्याली निकालेका छन् । इटहरीबाट निस्केको र्याली तरहराको पानीपियासम्म जाने कार्यक्रम छ । तर प्रहरीले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेका कारण सोही स्थानमा धर्ना दिने उनीहरुकाे योजना बनाएका छन् । हजारौँको संख्यामा रहेका प्रदर्शनकारीहरुले धर्म निरपेक्षता खारेज गर्दै हिन्दु राज्यको माग गरेका छन् ।
प्रदर्शनलाई मध्यनजर गरेर आज धरानमा प्रशासनले सुरक्षा व्यवस्था निकै कडा पारेको छ । प्रशासनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा नै जारी गरेको हो । धरान प्रवेश गरिने प्रत्येक नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।
किन भईरहेको छ प्रदर्शन ?
साउन ९ गते सुनसरी प्रहरीले ३० किलो गोरुको मासुसहित धरान–१५ का राजन परियार र बिन्द्राकुमार राईलाई पक्राउ गरेका थियाे । पक्राउ परेको १७ दिनपछि उनीहरु धरौटीमा रिहा भएका थिए । उनीहरु रिहा भएपछि धरानमा फेरि गोरु काटेर भोज लगाईयो । सो भोज नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरान–११ स्थित मंगलबारेमा आयोजना गरेको थियो ।
सामूहिक रुपमा गोरुको मासुको भोज लगाएको विषयलाई सामाजिक सञ्जालले धरानमा मात्रै सिमित गरेन । आफूहरुले पुज्ने गरेको जनावरको हत्या गरी मासु खाएको विषय हिन्दुवादीहरुले सहन सकेनन् । उनीहरुले सामाजिक सञ्जालमार्फत नै यसको प्रतिवाद गर्न थाले ।
सामाजिक सञ्जालमै चलेको पहिचानवादी र हिन्दुवादीहरुको द्वन्द्व चर्किदै गयो । हिन्दुवादीहरुले विरोध गरेपछि पहिचानवादीहरुले पनि विज्ञप्ती निकालेर जवाफ दिए ।
यो विषयले संसदमा समेत स्थान पायो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले संसदबाटै नेपालमा गाई काटेर खानेलाई साउदी अरबमा गएर सुंगुर काटेर देखाउन चुनौति दिए । उनीसँगै अन्य सांसदहरुले पनि धरानमा धार्मिक सहिष्णुता भंग गर्ने प्रयास भईरहेकोले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग राखे ।
सामाजिक सञ्जाल हुँदै सदन समेत तातेपछि हिन्दु धर्म समर्थकहरुले भदौ ९ गते (आज) शान्तीपूर्ण र्याली निकाल्ने निर्णय गरे । त्यसका लागि उनीहरुले देशभरबाट उपस्थितिको लागि आह्वान गरे ।
तर समाजिक सञ्जालमा चलेको द्वन्द्वले यो प्रदर्शन शान्तिपुर्ण हुनेमा शंका थियो । त्यसैले जिल्ला प्रशासन कार्यालयले धरानमा डेंगु नियन्त्रणको आवरणमा समाजिक, धार्मिक, राजनैतिक सभा, प्रदर्शन तथा र्याली लगायतका कार्य गर्न रोक लगाएको छ । शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हो ।