काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायाणकाजी श्रेष्ठको तस्कर जोगाउने मनसायका कारण ६० किलाे सुन प्रकरण ढिसमिस भएको आरोप लगाएका छन् । राज्य व्यवस्था समितिको सोमबार बसेको बैठकमा समापति लामिछाने सुन प्रकरणमा गृहमन्त्रीका आफ्ना मान्छेकाे अनुहार झलझली देखिएपछि ढिसमिस पारिएकाे आराेप लगाएका हुन् ।
लामिछानेले गृहमन्त्रीले तस्करहरुलाई जोगाउन प्रहरीलाई प्रभावित पारेको र प्रहरीलाई काम गर्न नदिएको आरोप लगाए । साथै गृहमन्त्रीको प्रेस संयोजकले मिडियालाई प्रभावित पार्न दर्जन पत्रकारलाई पठाएको म्यासेज पनि आफूसँग सुरक्षित रहेको समेत बताएका छन् । उनले भने, ‘२०८० साउन २ मा बरामद भएको १५५ मिलो ब्रेक शु सहितको सुनमा १४ साउनसम्म महत्वपूर्ण उपलब्धीसहित राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । तपाईँले अनेक बलबुतो लगाएर प्रहरीमा ल्याउने बल गर्नुभयो । अनुसन्धानलाई ढिसमिस गर्न प्रयत्न निरन्तर गर्नुभयो ।’
लामिछानेले गृहमन्त्रीलाई भने, ‘मिडियालाई समेत प्रभावित पार्नुभयो । तपाईँको प्रेस संयोजकले राजश्व अनुसन्धान विभागबाट अनुसन्धान खोसेर प्रहरीकोमा लैजानुपर्छ नत्र तस्करीमा नाइके भेटिदैनन् भनेर एक दर्जन बढी पत्रकारसँग गरेको आग्रहको प्रमाण मसँग छ । तर जे सोचेर तपाईँलाई भनेको थिएँ, त्यसको ठिक विपरित तपाईँको प्रेस संयोजकले भनेबमोजिम प्रतिष्ठित संचारमाध्यमले भन्न थाले, ‘संगठित अपराध, असंगठित अनुसन्धान’, ‘प्रहरीमा लैजाउ’, ‘राजश्वमा दिनुभएन’ । त्यही तपाईँको प्रभावित पार्ने मनसायका कारण र मानिसहरु जोगाउनुपर्ने मनसायका कारण प्रहरी तपाईँको भनाई नटेर्ने अवस्थामा पुग्यो ।’
लामिछानेले कानुनमा राजश्व चुहावटको मुद्दा प्रहरीले नभएर राजश्व अनुसन्धानले विभागले अनुसन्धान गर्ने कानुनी प्रावधान रहेको बताउँदै आफ्ना मान्छे जोगाउन विभागबाट खोसेर प्रहरीलाई बुझाएको आरोप लगाए । ‘अवैध सुन, हुण्डी कारोबार, राजश्व छली अनुसन्धानलगायतका विषय राजश्व अनुसन्धान विभागले गर्ने हो । राजश्व चुहावट सम्बन्धी ऐन २०५२ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ ले नै सो व्यवस्था गरेको छ । तर त्यो अनुसन्धान दावा छिरिङ पक्रियलगत्तै प्रहरीलाई बुझाउनु भयो तपाइँले र फासफुुस पार्नुभयो । तपाईँलाई तपाईँको नजिक रहेका झलकराम अधिकारीको बारेमा जानकारी गराएँ । जुन जुन सामान विमानस्थलबाट बरामद भएको थियो त्यही सामानको फोटो उनलाई पुगेको थियो । चाहे तत्कालिन आइजीको कुराकानी होस् । यो सिंगो कनेक्सनमा तपाईँको प्रभाव, तपाईँको सक्रियता आफ्ना मान्ेछ जोगाउनेतिर लाग्यो । फाइल खोलेँ भन्नुभयो, फाइल खोल्दा तपाइँका मान्छेहरुको अनुहार झलझली देखियो, त्यसकारण तपाईँले त्यसलाई प्रभावित गर्नुभयो ।’