एसिया कपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । क्रिकेटप्रेमी नेपालीहरु खेलकाे प्रतिक्षामा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत खेलाडीहरुलाई भिडियो कल गरेर शुभकामना दिईसकेका छन् । एसिया कप के हो र खेल समिकरण कसरी मिलाईएको छ, बुझ्नुहोस् ।
एसिया कपको आयोजक को हो ?
एसिया कप २०२३ को मूल आयोजक पाकिस्तान हो । तर राजनीतिक कारणले भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि श्रीलंका पनि सहआयोजक भएको छ । त्यसैले एसिया कपका खेल पाकिस्तान र श्रीलंकामा हुँदैछन् । फाइनल खेल श्रीलंकामा हुने छ ।
एसिया कप कुन फर्म्याटमा खेलाइन्छ ?
एसिया कप २०२३ का खेलहरु ५० ओभरका हुनेछन् । सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो ।
एसिया कपको समूह विभाजन र खेल समिकरण कसरी मिलाइएको छ ?
एसिया कपमा ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।
प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन् । प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–फोर चरणमा प्रवेश गर्नेछन् । त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् । र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन् ।
एसिया कपमा कुन कुन टिम सहभागी छन् ?
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपाल सहित ६ देश एसिया कप २०२३ मा सहभागी छन् ।
एसिया कप कुन कुन समयमा खेलाइन्छ ?
बुधाबार अपरान्ह ३ः१५ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ ।
एसिया कपको खेल तालिका यस्तो छ :
नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)
बंगलादेश भर्सेस श्रीलंका – भदौ १४ (श्रीलंका, क्यान्डी)
पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)
बंगलादेश भर्सेस अफगानिस्तान – भदौ १७ (पाकिस्तान, लाहोर)
नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)
अफगानिस्तान भर्सेस श्रीलंका – भदौ १९ (पाकिस्तान, लाहोर)
सुपर फोर – भदौ २० देखि भदौ २९ सम्म
फाइनल – भदौ ३१
सबै खेल नेपाली समय अनुसार अपरान्ह ३ः१५ मा सुरु हुने छन् ।
एसिया कपमा नेपाल कुन कुन टिमसँग खेल्दै छ ?
समुह चरणमा नेपाल बुधबार मुल्तानमा पाकिस्तानसँग खेल्ने छ भने भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्ने छ ।