राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसेको छ । उनको परिवारलाई दिन र रात कटाउन निकै मुस्किल परेको छ ।
आगलागीबाट पूर्णरुपमा घर जलेपछि चर्को घाममा पालमुनि बस्दा गर्मीले सताउने र राति सुत्न, बस्न समस्या हुने गरेको लोखनीदेवीले गुनासो गरिन् । वैशाख महिनामा दिउँसो हावाहुरी चल्न थालेपछि जीउभरि धुलो हुने गरेको उनी बताउाछिन् । उनले समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।
अर्का अग्निपीडित दुर्गाप्रसाद यादवले सर्वस्व आगोमा जलेपछि गुजारा गर्ने कुनै उपाय नरहेको बताए। उनले च्युरा, मुरहीबाहेक अन्य कुनै राहत नपाएको गुनासो पोखे ।
७५ वर्षीया अग्निपीडित दुखनीदेवी यादवले बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएको सुनाइन् । “यो एउटा पातलो त्रिपालमा छ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौती छ’, उनले भनिन् । आगलागीमा परेको पाँच दिन बित्दासमेत दुईचार केजी च्युरा, मुरहीबाहेक केही नपाएको उनको गुनासो छ ।
वडाअध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहतस्वरुप चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितलाई वितरण गरिएको जानकारी दिए । अग्निपीडितलाई राहत जुटाउने कार्य जारी रहेको उनको भनाइ छ । महादेवा गाउँपालिकाले विभिन्न सङ्घसंस्था र स्थानीय प्रशासनसँग पहल गरी रहेको जनाएको छ ।
स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट गत मङ्गलबार दिउँसो सल्किएको आगो निभाउन नसक्दा महादेवा गाउँपालिका–१ चिम्टीका ६२ परिवारको एक सय १४ घर जलेको थियो । जिल्ला प्रशासन कार्यालयले चिम्टीमै सहायता कक्ष स्थापना गरेको छ ।
उक्त क्षेत्रमा केही सामाजिक संघसंस्थाले निशुल्क खाना खुवाउने व्यवस्था गरेको छ । सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराज, मिसन कलेज र पदमा एन्ड टुरिजम बथनाहाको सहकार्यमा खाना खुवाउने व्यवस्था मिलाइएको हो । सो कार्यक्रमअन्तर्गत बिहान र बेलुका निःशुल्क खाना खुवाउने गरिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।