काठमाडौं । टेलिकम र सूचना प्रविधि क्षेत्रमा नामुद बिचाैलियकाे छवि बनाएका सुनिल पाैडेल र विकल पाैडेल अख्तियारकाे भ्रष्टाचार मुद्दा बाेकिरहेका छन् । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पाैडेलविरुद्ध भ्रष्टाचार आराेपमा २०८० वैशाखमा अख्तियारले करिब ७० करोड रुपैँया मागदाबीसहित मुद्दा दायर गरेको थियो । यस्तै नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध २०८० असोज १५ मा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर भयाे ।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको तथा अकुत सम्पत्ति आर्जन गरेकाे आराेपमा दुवैजनाविरुद्ध अख्तियारले छानबिन गरिरहेकाे थियो । तर, दुवैले अख्तियारलाई सहयोग गरिरहेका थिएनन् । अख्तियार स्रोतकाअनुसार अनुसन्धानका क्रममा बयानका लागि समेत अख्तियारलाई दुवैले बेवास्ता गरिरहेका थिए ।
अख्तियार स्रोतका अनुसार सहयोगकाे साटो प्रमाण नष्ट गर्न र भाग्ने तयारीकाे सूचना पछि अख्तियारले दुवैजनालाई पक्राउ गर्ने नीति लियो । "आफ्नो आराेपमाथि स्पष्ट पार्न अख्तियारले पौडेलद्वयलाई बारम्बार ताकेता गरेको थियो । तर अख्यितारको पत्रलाई समेत बेवास्ता गर्दै सम्पर्कमा नआएपछी निगरानी सुरु गरेको थियो," अख्तियार स्रोतले सिधाकुरासँग भन्यो ।
अख्तियारलाई बारम्बार नटेरेका उनीहरूलाई केहीदिन देखि अख्तियारले पछ्याइरहेकाे थियो र बुधबार दुवैलाई बाटोबाटै उठाइयाे ।
अख्तियारको सम्पर्कमा नभएका सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल बुधबार तारेख बुझ्न विषेश अदालत पुगेका थिए ।
अदालतबाट तारेख बुझेर निस्किने तयारी गरेका पौडेललाई विषेश अदालतको गेटमा अख्तियारको टोलीले पर्खिरहेकाे थियो । उनी गेटबाट बाहिर निस्किनै लाग्दा अख्तियारकाे टाेलीबाट पक्राउ खाए ।
यस्तै नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक पौडेलले पनि अख्तियारको ताकेतालाई छल्दै आएका थिए । बुधबार उनी आफ्नो बि एए ९८६९ भक्सवागन कारमा पुतलीसडकबाट कमलपोखरीतर्फ जाँदै थिए । केहि दिन देखि अख्तियारको निगरानीमा रहेका उनलाई जरुरी पक्राउ पुर्जी थमाउँदै हात्तिसारस्थित कृष्णपाउरोटी अघि मुल सडकबाटै अख्तियारले पक्राउ गर्याे । पक्राउ पछि पौडेलको शान्तिनगरस्थित घरबाट केही महत्त्वपूर्ण कागजपत्र समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार उनीहरुलाई गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धि मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, सरकारी सेवामा रहेकै बेला अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा काम गरेको र सरकारी सेवामा रहेकै बेला अमेरिकाको पीआर लिएको देखिएकाले प्रमाण नष्ट गर्नसक्ने र भाग्नसक्ने देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ।