कैलाली । माघ ३ गते राती कैलालीको घोडाघोडी नगरपालिका –७ हरिनगरका थानेश्वर चौधरीको से.७ प ६४४ नम्बरको मोटरसाइकल चोरी भयो । त्यसको भोलिपल्ट बिहानै अस्थाई प्रहरी पोष्ट हरिनगर कैलालीमा आफ्नो मोटरसाइकल चोरी भएको र खोजी गरिदिनका लागि चौधरीले निवेदन दिए ।
फागुनको पहिलो साता कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी अस्पतालमा पीडित चौधरी कामको सिलसिलामा पुगेका थिए। अस्पताल परिसरमा से.७ प ६०४५ नम्बर रहेको मोटरसाइकलमा उनको नजर पर्यो । तिन जना सवार उक्त मोटरसाइकल आफ्नो होकी भन्नेमा शंका गरे । त्यसपछि उनले अस्पतालको सिसिटिभी फुटेज समेत चेक गरे । नभन्दै अस्पतालको सिसिटिभी फुटेजबाट उनले उक्त मोटरसाइकल आफ्नो भएको पत्ता लगाए ।
त्यसपश्चात् उक्त विषयबारे चौधरीले इलाका प्रहरी कार्यालय सुखडलाई समेत जानकारी गराए । इलाका प्रहरी कार्यालयको कमान्डमा खटिएका एक प्रहरी जवानले शुक्रबार बेलुका सुखडको एक पम्पमा उक्त मोटरसाइकल फेला परेको भन्दै चौधरीलाई सम्पर्क गरे । उनका अनुसार दुई जनाले उक्त मोटरसाइकल छोडेर भागेको र उक्त मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
आफ्नो मोटरसाइकलको स्वरुप र नम्बरप्लेट समेत परिवर्तन गरेको अवस्थामा भेटेपछि शनिबार पीडित चौधरीले पुनः चोरीमा सङ्कलनहरूको खोजीकार्य र आफ्नो क्षतिपूर्तिका लागि भन्दै इलाका कार्यालय सुखडमा निवेदन दिए।
प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिइएको भनेपनि पम्प आसपासमा जडान गरिएका सिसिटिभी फुटेजमा प्रहरीले दुई जनालाई समेत नियन्त्रणमा लिएको देखिन्छ । प्रहरीले त्यसपश्चात् आफ्नो मोटरसाइकल त्यहीँ छोडेर नियन्त्रणमा लिइएको मोटरसाइकलको चाबी थुतेर ति युवकहरूलाई मोटरसाइकल डोर्याउन लगाएको देखिन्छ । ‘२ जना मध्ये एक युवक शारीरिक रुपमा अशक्त देखिन्छन् । त्यस्तो अवस्थामा दुवै जना प्रहरीकै अगाडि कसरी भाग्न सक्छन् ?, चौधरी प्रश्न गर्छन् । त्यस्तै प्रहरीले उनीहरूलाई भगाएको उनको आरोप छ ।
त्यसपश्चात् चौधरीले उनीहरूको खोजीकार्य गरिपाउँ भनी पुन निवेदन दिए । निवेदनको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेपनि ति व्यक्तिले चोरी नगरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता गर्न नमानेको पीडित चौधरीले सिधाकुरासँग गुनासो गरे । चोरीको मोटरसाइकल चलाएकै आधारमा कसैलाई चोर हो भन्न नमिल्ने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक विरेन्द्र बिर विश्वकर्माको भनाई छ । सोही आधारमा कसैलाई मुद्दा नै चलाउन नसकिने उनले बताए ।
पक्राउ परेकालाई छुटाउन दबाब
प्रहरी स्रोतका अनुसार चोरीको मोटरसाइकल सहित केही युवा पक्राउ परेका छन्। उनीहरूलाई बचाउन नेता र जनप्रतिनिधिको निरन्तर इलाका प्रहरी कार्यालय सुखडका डिएसपीलाई फोन आइरहेको छ । सोही कारण उनीहरूविरुद्ध उजुरी दर्ता नभएको केही प्रहरी अधिकारी बताउँछन् ।
‘जति सजिलै मोटरसाइकल बरामद र चोरलाई नियन्त्रणमा लिइयो, त्यसपछि उनीहरूलाई छुटाउन निरन्तर दबाब आइरहेको छ । पक्राउ परेकालाई बचाउन उनीहरूका आफन्त, जनप्रतिनिधि र प्रहरी आफैँ लागेका छन् ।’, प्रहरी स्रोत बताउँछ ।