बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ ।
अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि बि, सि, इ, एफ, र जि वर्ग सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए ।
बागलुुङमा हाल (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।
“ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियाैँ”, उनले भने, “प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुुरु गर्ने तयारीमा छौँ ।”
कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।
लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।
सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले जानकारी दिए ।