काठमाडाैँ । ‘आहा १ मेघराजजी तपाईंले त कति राम्ररी व्यवसायिक कृषि गर्नु भएको ? तपाईं त यो समाजकै उदाहरणीय पात्र हुनुहुन्छ, तपाईँबाट नेपालीले सिक्नुपर्छ । तपाईंको कामको भिडियो बनाएर नेपालभर देखाउनु पर्छ,’ धादिङ निलकण्ठ नगरपालिका-७ का मेघराज पोखरेललाई गाउँकै स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले फुरुङ्ग बनाए ।
उनीहरूले नै एक जना पत्रकार बोलाएर मेघराजको सफलताको कथाको भिडियो बनाए । सो भिडियोमा सहकारीकै कारण आफूले सफलताको शिखर चुमेको पनि भन्न लगाए । सो भिडियो नेपाल टेलिभिजनबाट प्रसारण पनि गरे ।
२०६९ सालदेखि सातमुले कृषि तथा पशुपालन फर्म सञ्चालन गरेका मेघराज २०७६/७७ सम्म आइपुग्दा साँच्चै उदाहरणीय कृषकको रुपमा स्थापित भइसकेका थिए । जिल्लाकै एक गैह्र सरकारी संस्थामा काम गर्दा गर्दै ५ सय लेयर्स कुखुरा र ५० ओटा बाख्राबाट सुरु भएको व्यवसायिक कृषि २ सय बाख्रा, ३५ सय लेयर्स कुखुरा र १० ओटा गाईभैँसीमा फैलिइसकेको थियो ।
लाखको लगानीलाई करोडौँको बनाएका मेघराज जिल्लामै उदाहरणीय कृषकको रुपमा स्थापित हुँदै गर्दा सहकारीले पनि उनलाई बेला बेला सम्मान गरिरहेको थियो । तर, एक दिन उनलाई सहकारीले सदस्य बन्न आग्रह गर्यो । उनी सहकारीको सदस्य भए । सहकारीले ऋण लिन भन्यो, उनले सहकारीबाट ऋण लिए र तिनै सहकारीका कारण आज उनी सबै व्यवसाय गुमाएर सडकमा पुगेका छन् ।
सहकारीको किर्तेका कारण सबैथोक गुमाएका उनलाई अहिले दैनिक गुजारा चलाउन र बालबच्चा पठन पाठनमा समेत समस्या भएको छ । आफूविरुद्ध भएको बेइमानीको कतैबाट न्याय नपाएको पोखरेलले सिधाकुरालाई बताए ।
सहकारीको ऋणको पासो
६/७ वर्षको मेहनतपछि २०७५ सालसम्म आइपुग्दा पोखरेलको फर्ममा २ सय बाख्रा, ३५ सय लेयर्स कुखुरा र १० ओटा गाईभैँसी थिए । उनले व्यवसाय विस्तारका लागि सहकारीको सदस्य बने । ‘अण्डा, कुखुरा र खसीबोका जिल्ला सदरमुकाम लैजान गाडी सहित मलाई व्यवसाय विस्तारका लागि पनि लगानी चाहिएको थियो,’ मेघराज भन्छन् ,‘म सहकारीको सेयर सदस्य बनेँ । सदस्य बनेपछि उनीहरूले बेलाबेलामा मलाई पुरस्कृतसमेत गरे । त्यतिबेलासम्म मेरो व्यवसाय विस्तार गर्न मलाई पैसा आवश्यक परिरहेको थियो । मैले बैँकबाट पैसा निकाल्ने तयारीमा थिएँ । तर सोही सहकारीका पदाधिकारीहरूले आफूलाई सहुलियत ब्याजदरमा सहकारीले नै ब्याज उपलब्ध गराउने भन्दै रकम यतैबाट झिक्न भने । ’
उनले विभिन्न तीन शीर्षकमा २०७५ असोज १५ गते जग्गाको लागि १५ लाख, २०७५ साल मंसिर १८ गते गाडी खरिदका लागि भनेर १५ लाख र मंसिर १९ गते कृषि लोन भनेर ५ लाख गरेर जम्मा ३५ लाख ३३ हजार ऋण लिए । ‘सहकारी भनेको त आफ्नै हो, सहकार्य गरेर सँगै अघि बढ्ने हो भन्ने बुझेको थिएँ । त्यही सोचेर मैले लोन लिएँ । त्यो ऋण लिनु नै मेरो दुर्दशा भयो,’ उनले भने ।
कोभिड र सहकारी महामारी एकैसाथ
राम्रो कृषि व्यवसायमा जमेका पोखरेलले फर्म चलाएको जमिन निकै आकर्षक ठाउँमा थियो । जिल्ला सदरमुकाम देखि मनास्लु हिम शृङ्खलासमेत देखिने उक्त फार्म कृषिसँगै पर्यटनका लागि पनि राम्रो थियो । सो जग्गामा धेरैको आँखा परेको पोखरेल बताउँछन् ।
ऋण लिएको डेढ वर्षसम्म सहकारीको ऋणको किस्ता तिर्दै काम गरिरहेका उनी कोभिड महामारीको सिकार भए । कुखुरा, अण्डा र खसीबोका बढ्दै गए, बजार बन्द हुँदै गयो । बढेको कृषि उपजका लागि लगानी पनि बढ्दै गयो तर बजार नभएपछि उनी ऋण तिर्न नसक्ने समस्यामा परे । तर, पनि सहकारीमा १० लाख किस्ता बुझाइसकेको उनी बताउँछन् ।
त्यति हुँदै गर्दापनि एक दिन किस्ता नतिरेको भन्दै सहकारीका तत्कालीन अध्यक्ष प्रदिप अधिकारीले जिल्लाकै एकजना हार्डवेयर पसले प्रयोग गरेर उनको गाडी समाउन लगाए । गणेश कुमार श्रेष्ठ नाम गरेको व्यक्तिलाई अधिकारीले उचालेर गाडी समात्न लगाएको उनी बताउँछन् । ‘हार्डवेयरसँग मेरो जम्मा १ लाखको पनि कारोबार थिएन । तर पनि उसले गाडी समात्यो । गणेशले किन गाडी समायो भनेको त एकैवर्ष पछि मात्र थाहा भयो कि त्यो गाडी सहकारीले समाउन लगाएको रहेछ,’ मेघराज भन्छन् ।
सहकारीले गाडी जफत गरेको २ वर्षपछि पोखरेलका ४० लाख मूल्य बराबरको लेयर्स कुखुरा पनि रोगले मरे । कोरोना महामारीले थलिएको उनको व्यवसायमा रोग पनि थपियो । सबै व्यवसाय चौपट बन्यो । एकपछि अर्को महामारी आइलागे पछि १७ महिना किस्ता तिर्न नसकेको उनी बताउँछन् । त्यसपछि सहकारीले ऋण तिर्न नसकेको भन्दै उनको फार्मको लिलामीको प्रक्रिया अघि बढायो ।
लिलामीमा किर्ते
व्यवसायमा पतन सुरु भएपछि अत्तालिएका पोखरेलको फार्म नै लिलामीमा चढ्यो । गाउँकै सहकारीले नुवाकोटबाट प्रकाशित हुने उत्तरगया राष्ट्रिय दैनिकमा कर्जा तिर्न आउने भन्दै ३५ दिने सूचना निकालेपछि उनले ऋण तिर्न र सम्पत्ति जोगाउन सबै बल लगाएको दाबी गर्छन् । ‘त्यतिबेलासम्म पनि म सहकारीसँग नियमित सम्पर्कमै छु । लाखौँको जग्गा, गाडी छन्, सम्पत्ति छ, म कर्जा तिर्छु भनिरहेको थिएँ,’ पोखरेल भन्छन् ।
लिलामीको सूचना उनले २०७८ असोज ६ गते पाए । असोज ११ गते सहकारी गएर ३५ लाखको हरजनासहित किस्ता र साँवा घटाएको उनको दाबी छ । त्यति घटाएपछि सहकारीले पोखरेललाई फेरी २०८५ सालसम्मका लागि ऋणको पुनर्तालिकीकरण गर्यो ।
त्यसको करिब १ महिनापछि मेघराजले पुनः सहकारी गएर गाडीको १३ लाख रुपैयाँ ऋण चुक्ता गरेको बताउँछन् । ‘जुन बेला मैले गाडी चलाएकै थिइनँ, मसँग गाडी नै थिएन । तैपनि मैले २८ दिनमा गाडीको २३ लाख १७ हजार रुपैयाँ तिरेँ,’ उनी भन्छन्, ‘ऋण पुनर्तालिकीकरण गरेपछि जग्गाको ऋणको लागि मेरो चुक्ता अवधि ७ वर्ष बाँकी थियो तर सहकारीले मलाई थाहै नदिई जग्गा लिलाम प्रक्रिया अगाडि बढाएछ । मङ्सिरमा किस्ता बुझाउन जाँदा त ५१ लाखमा जग्गा नै पास गरिदिएछ ।’
पोखरेलका अनुसार ५१ लाखमा जग्गा बिक्री भएको भनिएको जग्गाको मूल्य एक करोड रुपैयाँ भन्दा धेरै पर्ने थियो । ५१ लाखमै सो जग्गा पास गरिदिएको हो भने बाँकी पैसा स्रोत परिचालनका अध्यक्ष प्रदीप अधिकारी र कोषाध्यक्ष रुद्र खत्रीलगायतले घोटला गरेको हुनसक्ने उनको आरोप छ ।
वडा, मालपोत, प्रहरी प्रशासन सबैको मिलेमतो
ऋण पुनर्तालिकीकरण गरेर ढुक्क भएका पोखरेलको जग्गा नै अन्तै पास भएको पाइएपछि उनले आफ्नो जग्गा पास भएकोबारे मालपोत र सहकारीबाट जानकारी लिन खोजे तर मालपोतले उनलाई कुनै सूचना दिन मानेन । सूचनाको हक अन्तर्गत सूचना माग गर्दा समेत उनीहरूले बेवास्ता गरेको र डकुमेन्ट लुकाएको पोखरेलको आरोप छ ।
सूचना लुकाएको भन्दै जिल्ला प्रशासनमा निवेदन हालेपछि मालपोत र सहकारीले किर्ते लुकाएर अस्पष्ट डकुमेन्ट दिएको उनी बताउँछन् । उपलब्ध डकुमेन्टमा सहकारीदेखि वडा र बैंकले समेत बदमासी गरेको उनी बताउँछन् ।
उपलब्ध कागजातअनुसार मालपोतले जनता बैँक खडा गरेर बैँकको २२ सय ८७ दर्ता चलानी नम्बरमा जनता बैँक र स्रोत सहकारी एकीकरण भएर जग्गा लिलाम गर्न बाध्य भएको भनी लेखिएको छ । तर, पोखरेलले जनता बैँकसँग कुनै कारोबार नगरेको बताउँछन् । ‘मैले १५ लाख बाहेक अरु त तिरिसकेको थिएँ । त्यो मेरो नाममा भएको ऋण थियो । म बैंक चिन्दा पनि चिन्दिनँ,’ उनले भने, ‘तर लिलाम गर्ने बेला मेरी श्रीमती सावित्री पोखरेललाई ऋणी बनाएर पेश गरिएको कागजात छ ।'
उनका अनुसार सावित्री पोखरेलले नै जग्गा बेचेको हो भन्ने देखाउन उनकै नामबाट लाभकर समेत किर्ते गरेर तिरिएको पाइएको छ तर डकुमेन्टमा सावित्रीको हस्ताक्षर भने छैन । त्यसो त ऋणको किस्ता तिरिरहेकै अवस्थामा नागरिक दैनिकमा १५ दिने र ७ दिने सूचना निकालिएको पाइएको उनी बताउँछन् । ‘मेघराज पोखरेल सम्पर्कमा नआएको भन्ने सूचना निकालेर मालपोतमा पेश गरिएको रहेछ । यदि सम्पर्कमा नआएको भए त्यो २३ लाख मैले कसरी तिरेँ ? मालपोतको टिप्पणीमा भूमिगत भएको भनिएको छ, म भूमिगत भएको भए त्यो किस्ता कसरी तिरेँ ? यसरी झुटा र किर्ते गरेर जग्गा हडप्ने काम भएको छ ।’ उनी भन्छन् ।
यता सहकारीका व्यवस्थापक दयानिधि नेपालले भने सहकारी ऐन नियम बमोजिम नै मेघराजको जग्गा सहकारीले लिलाम गरेको दाबी गरे । मेघराज सहकारीका शेयर सदस्य भएकाले उनलाई अन्य शेयर सदस्य सरहनै व्यवहार गरिएको दाबी गर्दै 'सहकारीले कुनै किर्ते नगरेको, मेघराजले ऋण चुक्ता गर्न नसकेपछि लिलाम प्रक्रिया अघि बढेको' दाबी गरे ।
एउटा व्यवसायिक कृषकविरुद्ध यति ठूलो षड्यन्त्र हुँदापनि जिल्ला प्रशासन कार्यालय धादिङले उजुरी लिन नमानेको उनको भनाई छ । जाहेरी दिन जिल्ला प्रहरीमा पुगेँ जाहेरी दर्ता गर्न मानिएको थिएन । तर प्रहरी कार्यालयमा छलफल भने भएको थियो । सहकारीविरुद्ध किर्ते मुद्दा अघि बढ्ने संकेत पाएपछि भने सहकारीका अधिकारीहरूले मेघराजले तिर्न बाँकी ऋण भुक्तानी गरे जग्गा फिर्ता गर्ने निर्णय भएको भन्दै किर्तेबाट जोगिन खोजेका छन् । तर प्रहरी कार्यालयमा निर्णयको कपी भने दिन सकेनन् । मेघराजलाई समेत अहिलेसम्म नदिएको बताएका छन् ।
सहकारीका व्यवस्थापक नेपालले हामीसँग पनि सहकारीको सञ्चालक समितिले निर्णय गरेको दाबी गरेपनि कहिलेको निर्णय हो भन्न सकेनन् ।