२६ भदौ, काठमाडौं । ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । सीआईबीले आज सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको प्रहरीको केन्द्रिय प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।
उनले भने, ‘सकेसम्म आजै बुझाउने तयारी छ । बेलुकासम्म खबर आउला ।’
राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार पास भईसकेपछि सिनामंगलमा सुन बरामद गरेको थियो । विभागले बरामद गरेको ब्रेक शु सहितको सुनको तौल १ सय ५५ किलो पुगेको थियो । पछि टक्सार विभागले गालेर जोख्दा ६० किलो केही बढी सुन पाइएको थियो ।
राशश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको सुन प्रकरणको फाइल गैरकानूनी ढंगबाट सीआईबीको जिम्मा लगाइएको थियो । यो प्रकरणमा हालसम्म ३१ जना पक्राउ परेका छन् । जसमध्ये २१ नेपाली र ९ जना विदेशी छन् ।
यो प्रकरणमा सरकारका उच्च कर्मचारीदेखि शिर्ष नेताहरुसमेत मुछिएका छन् । सुनको मुख्य नाइके भनिएका दावा छिरिङसँग माओवादी नेतादेखि पूर्व प्रहरी प्रमुख र ब्यापारीसम्मको हिमचिम देखिएको विषयमा सिधाकुराले यसअघिनै श्रृङ्खलाबद्ध खुलासा गरिसकेको छ । अब सीआईबीको अनुसन्धान प्रतिवेदनमा ति व्यक्तिहरुमाथि अनुसन्धान हुन्छ हुँदैन त्यो भने हेर्न बाँकी छ ।