बाराको सिमरास्थित जगदम्बा स्टिलको परिसरभित्र एक व्यक्तिको ट्रकले किचेर हत्या गरिएको सिसिटिभि फुटेजमा देखिएको छ । सिधाकुरालाई प्राप्त सिसिटिभि फुटेजमा बसिरहेका मजदुरमाथि सिधै ट्रक चढाएको देखिएको छ ।
सिधाकुरालाई प्राप्त भिडियोमा एउटा लहरी ट्रकको अगाडि दुईजना व्यक्तिहरु शितलमा बसिरहेका छन् । एक व्यक्तिले ट्रक अघि बढाउँछन् । जबकी ट्रक चलाउने व्यक्तिदे अगाडि मान्छे बसेको स्पष्ट देख्न सक्छ । ट्रकले दुबै जनालाई छोप्छ । एकजना भने उम्कन सफल हुन्छन् । तर अर्का व्यक्ति भने त्यहीँ किचिन्छन् । त्यसपछि चालकले फेरि ट्रक ब्याक गर्छन ।
त्यसपछि उद्योगका सुरक्षा गार्ड अत्तालिँदै त्यहाँ आईपुग्छन् । चालक तल झर्छन । सुरक्षा गार्डले अर्का गार्डलाई बोलाउँछन् । तर उनले पनि हेर्छन मात्रै । त्यहाँ अन्य मानिसहरु हुन्छन् तर किचिएका व्यक्तिलाई निकाल्ने प्रयास गरिदैन । धेरैबेरसम्म पनि त्यहाँ ट्रकमा किचिएका व्यक्तिको उद्धार कसैले गरेको देखिदैन ।
जगदम्बा स्टिलको उद्योग परिसरमा मजदुरको मृत्युको बारे बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले पुष्टि गरे । उनका अनुसार प्रदेश २ ०३००१ ख ५९६ नम्बरको ट्रकले किचेर बाराको जितपुरसिमरा–२ घर भएका २२ वर्षे उज्वल कार्कीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उज्वलमाथि ट्रक चढाउने चालक अहिले प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटना शंकास्पद देखिएकोले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस विषय थप बुझ्न शंकरु ग्रुप लिमिटेडको जगदम्बा स्टिल्सका अध्यक्ष शाहिल अग्रवालाई सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क भएन ।