२२ भदौ, रौतहट - रौतहटमा वासिंग प्लान्टको अनुमती लिएर क्रसर उद्योग संचालन भएको पाइएको छ ।
जिल्लाको बृन्दावन नगरपालिका–१ रमौली बैरीयामा संकट मोचन वासिंग उद्योग र शिवम बालुवा वासिंग उद्योगले वासिंग सेन्टरको नाममा निर्वाध अवैध धन्दा संचालन गरिरहेका छन् । संकट मोचनका संचालक प्रमोद महतो र शिवमका संचालक प्रमोद कुमार साहले वासिंग उद्योगको अनुमती लिएर क्रसरनै संचालन गरेका छन् ।
उनीहरुले संचालन गरेको उद्योग परिसरमा अग्ला अग्ला ढुंगा र गिटीका थुप्रा छन् । बालुवा प्रशोधन गर्ने भनेर अनुमती लिएका दुवै उद्योगले उद्योग परिसरमै निर्माण सामाग्रीको दररेट नै तोकेर बिक्रि वितरण गर्दै आएका छन् । उनीहरुले बालुवा प्रति ट्रयाक्टर ३५०० रुपैँया, गिटि ३५०० र बोल्डर ४५०० का दरले मूल्य नै तोकेर बिक्रि गर्ने गरेका छन् भने प्रतिटिफर बालुवा १२ हजार ,गिटी १२ हजार र बोल्डर १४ हजार रुपैँंया उनीहरुको दररेट रहेको छ ।
यसरी अवैध रुपमा संचालित यी दुवै उद्योगले राजश्व समेत छलि गरेको पाइएको छ । रौतहटका यी २ उद्योगले वर्षौँदेखि एउटै स्टक प्रमाणित देखाएर राजश्व छल्दै आएको पाइएको छ । करिब १५ लाख घनमिटर भन्दा बढी गिटीको स्टक प्रमाणिकरण माग गर्दा उद्योग संचालकले हरेक साल स्टक प्रमाणिकरण गरेको बताएपनि विवरण भने सार्वजनिक गर्दैनन् ।
त्यतिमात्र नभएर उनीहरुले भ्याट बिल समेत नक्कली काट्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा उद्योगमा कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् ।
त्यस्तै यी दुई उद्योग मापदण्डविपरित संचालन गरेको पाइएको छ । उद्योग संचालन मापदण्डअनुसार सडकछेउ र नदिछेउमा प्रशोधन केन्द वा क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन । तर, वर्षौँदेखि मापदण्डविपरीत चलिरहेका यी दुई उद्योग हटाउन कसैले कदम नै चालेका छैनन् । नियामक निकाय उनीहरुमाथी छानबिन गर्ने तत्परता नै देखाउँदैन । राजनीतिक नेतृत्व र प्रशासकसँगको हिमचिमका कारण अवैध धन्दा संचालनले प्रश्रय पाइरहेको स्थानीय बताउँछन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र प्रहरीको संलग्नतामा यस्ता अवैध धन्दा संचालन भएको स्थानीयको आरोप छ ।