काठमाडाैँ । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको दाबी गर्दै सर्वसाधारणको निक्षेप पूर्ण सुरक्षित रहेको जनाएको छ ।
मंगलबार विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ’।
राष्ट्र बैंकले कानुनले दिएको जिम्मेवारी बैंक तथा वित्तीय संस्थाहरूमा नियमित रूपमा निरीक्षण र सुपरीवेक्षण गरिरहेको जनाउँदै बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्ने अपिल समेत गरेको छ ।
कुनै बैंक तथा वित्तीय संस्थामा पूँजीकोष, तरलता र सीडी रेसियो जस्ता परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको राष्ट्र बैंकले प्रस्ट पारेको छ ।