काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीको बिचारलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाडामा बिहीबार सम्पन्न बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श बैठकमा उनीहरुले पार्टीभित्र उन्नतस्तरको बहस सिर्जना गर्दै त्यसलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा नयाँ कार्यक्रम बिकास गर्नुपर्ने, सूचना प्रविधिका साथै युवाहरुलाई जोड दिदै कार्यकर्तालाई आत्मनिर्भर बनाउनुपर्ने लगाएतका सुझाव आएको उनले बताए । उनले पार्टी फुटको तरंग हल भइसकेको भन्दै अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताए । ‘पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा करिब हल भएको छ’, उनले भने, ‘अध्यक्षले खारेज भइसक्यो भन्नुभएको छ । त्यसमा हाम्रो सहमति छ ।’
सापकोटाले सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय गर्नुपर्ने लगाएतका सुझाव आएको पनि बताए । उनले सबै परामर्शको सुझावका आधारमा केन्द्रीय समितिले नयाँ योजनाका साथ निर्णय गर्ने उल्लेख गरे ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई÷दुई दिन परामर्श बस्ने निर्णय हालै बसेको स्थायी समिति बैठकले गरेको थियो । सोहि अनुसार क्रमश उपत्यका विशेष तथा सम्पर्क समन्वय, गण्डकी प्रदेश, सुदुपश्चिम प्रदेश लगाएतको परामर्श बैठक बैठक बस्ने माओवादीले जनाएको छ ।