मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्व समूहको प्रदर्शन असफल भएपछि कोणसभा छोडेर घर पुगेका प्रसाईँले घरबाटै भाेलिदेखि तिनकुनेमा आन्दाेलन जारी राख्ने बताएका छन् ।
राजसंस्था फर्काउने मूल मुद्दासहित ‘राष्ट्र बचाउ महाअभियान’ को संयोजन गरेर आन्दोलनमा हामिएका प्रसाईँ पहिलो दिनमा नै कोणसभामा पुगेर छोटो सम्बोधन गरी घर लागेका हुन् ।
उनी नेतृत्वको समूहको प्रदर्शनका लागि तोकिएको बल्खु क्षेत्रमा दुईपटकसम्म झडप भएपछि कोणसभानै छोडेर उनी भक्तपुरस्थित आफ्नो निवासमा पुगेका छन् । घरबाटै केही समयमा पत्रकार सम्मेलन गर्ने उनकाे तयारी छ ।
बिहिबार महेश बस्नेत नेतृत्वको समूहले काठमाडौँको तिनकुनेमा र दुर्गा प्रसाईँ नेतृत्वको समूहले बल्खुमा प्रदर्शन गरेका थिए । तर प्रदर्शन सुरु हुनासाथ युवा संघ र दुर्गा प्रसाईँ नेतृत्वको समूहबिच बल्खुमै झडप भएको थियो ।
त्यसको केही समयपश्चात प्रसाईँ नेतृत्वकै समूह बल्खु छोडेर सिंहदरबार घेर्न भन्दै कालिमाटितर्फ अघि बढेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको थियो । प्रहरीले स्थिती नियन्त्रणका लागि पानीको फोहोरा साथै अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
स्थिति तनावग्रस्त हुनुपूर्व नै बल्खु क्षेत्र छोडेर भक्तपुर पुगेका प्रसाईँले आफूहरुको प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रत्रकार सम्मेलन गर्ने भएका छन् ।
कार्यक्रमको संयोजक नै फरार भएपछि प्रदर्शनकारीहरु तितरबितर भएका छन् भने कार्यक्रमको कार्यतालिका नै बिग्रिएको छ ।