
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका राजनीतिक नेक्ससका नाइके मानिएका बेचन झाले पीडित मध्येका एक रामशरण केसीलाई भेटेको भिडियो सिधाकुराले फेला पारेको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश तिर्थराज केसीको इजलाशले २०८१ भदौ २ गते झालाई भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । झा अहिले जग्गनाथ देवल भद्र सुधार गृह कारागारमा थुनामा छन् ।
प्रहरी र अदालतमा झाले आफूले रामशरण केसीलाई नचिन्ने भन्दै इन्कारी बयान दिएका छन् । तर, सिधाकुरालाई प्राप्त भिडियोमा बेचन झा र रामशरण केसी सडक छेउको फूटपाथमा भेटेकोे देखिन्छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सयौँ मानिसहरुबाट करोडौँ रुपैयाँ उठाएको र सो रकममार्फत तत्कालीन शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई नै प्रभावित पारेर शरणार्थी सम्बन्धी निर्णय गराएको आरोप झामाथि लाग्ने गरेको छ ।
बेचन झाको स्पष्ट अनुहार खुल्ने उक्त भिडियोमा रहेको अर्का व्यक्ति आफू भएको रामशरण केसीले सिधाकुरालाई बताएका छन् । उनले सो दिन सानु भण्डारी (नक्कली शरणार्थी प्रकरणका नाइके मध्येका एक) ले भनेबमोजिम बेचन झालाई दुई करोडको चेक दिन भेटेको पनि स्वीकार गरे ।

‘यो २०७८ मंसिर ८ गते साँझ ८ बजेतिरको भेट हो,’ केसीले भने, ‘वि.स. २०७८ मंसिर १३ गतेको तत्कालिन शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले शरणार्थी बनाएर अमेरिका पठाउनेबारे निर्णय गर्दैछ । त्यसअघि हामीले झा मार्फत उनीहरुसम्म पुग्नेगरी पैसा बुझाउन पर्छ भनेपछि २ करोड रुपैयाँको चेक दिन भेटेको हुँ ।’
केसीले आफूले सो दिन बेचन झालाई हिमालयन बैंकको २ करोड रुपैयाँको चेक दिएको पनि सिधाकुरालाई बताए ।

भिडियोमा के देखिन्छ ?
जम्मा ४ सेकेण्डको उक्त भिडियोमा रातो ज्याकेट, कालो ट्राउजर, खरानी रङको जुत्ता र कालो टोपी लगाएको एक व्यक्ति देखिन्छन् । त्यो व्यक्ति आफू भएको केसीले सिधाकुुरालाई बताए ।
यस्तै, अर्कातर्फ उभिएका व्यक्ति बेचन झा भएको उनको भनाई छ । निलो ट्रयाक सुट, कालो जुत्ता, खैरो गलबन्दी र खैरो रङको टोपीमा देखिएका व्यक्ति बेचन झा हुन् । भिडियोमा केसी र झाबीच केही कुराकानी भएको र झाले हुन्छ भने जस्तो देखिन्छ । केसीले सो भेटमा आफूले २ करोडको चेक दिएको बताएका छन् ।
भिडियो र अदालतमा बयान
सिधाकुरासँगको कुराकानीमा रामशरण केसीले आफूसँगै गएका साथीले सो भिडियो खिचेको बताए । सिधाकुराले देखाएको भिडियो पुष्टि गर्दै उनले सो भिडियोमा आफू र बेचन झाबीच चेक लेनदेन भएको र भिडियो श्यामकृष्ण श्रेष्ठले खिचेको केसीले बताए ।
त्यसो त केसीले प्रहरीलाई दिएको ततिम्बा बयानमा पनि भिडियोबारे खुलाएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा २०८१ साउन २९ गते दायर गरेको आरोप पत्रमा केसीले यसबारे खुलाएका छन् ।
‘यसमा मैले मिति २०७८।०८।८ गते रातको २०ः०० को समयमा मेरो नामको हिमालयन बैंकको खाताको रु २,००,००,०००।– को चेक लिने बेचन झा नाम गरेका व्यक्ति हाल मेरो सामुन्ने उपस्थित भएका यिनै व्यक्ति हुन् । निज तत्काल काठमाडौं जिल्लाको बानेश्वरमा बस्दथे । भुटानी शरणार्थीको नाममा नेपालीहरुलाई अमेरिका लैजानका लागि मिति २०७८।०८।१३ गतेको मन्त्रिपरिषदको बैठकबाट केही निर्णयहरू हुन लागेको छ उक्त निर्णय गराउन बेचन झाले केही रकमहरु मागेका छन् उनीलाई चेक काटिदिनु सो चेक ग्यारेन्टीको लागि मात्र हो, चेक नदिए काम हुँदैन भनि मलाई प्रतिवादी सानु भण्डारीले भनेको हुनाले मेरो आफ्नै र मेरा अन्य मानिसहरुको भुटानी शरणार्थीको नाममा अमेरिका जाने सन्दर्भमा ठूलो रकम सानु भण्डारी समेतलाई दिई सकेको हुनाले मैले बाध्य भई मिति २०७८।०८।८ गते रातको २०ः०० को समयमा मेरो नामको हिमालयन बैंकको खाताको रु। २,००,००,०००।– को चेक यिनै बेचन झालाई दिएको हुँ । यी बेचन झाले मैले चेक दिँदाको बखत निलो रङको ट्रयाकमा बाहुला र सुरुवालको साइडमा सेतो धर्का भएको कपडा र स्पोर्ट जुत्ता र सेतो रङको उनी टोपी लगाएका थिए भने मैले रातो रङको ज्याकेट र धर्के उनी टोपी समेत लगाएको थिएँ, सो कुरा भिडियोमा पनि देखिन्छ, चेक दिने र लिने भई सकेपछि निज र म छुट्टिएका हौँ । निजलाई चेक दिनको लागि म र जिल्ला रामेछाप स्थायी वतन भई हाल काठमाडौंको हात्तीगौंडा बस्ने श्यामकृष्ण श्रेष्ठ नामको मेरो साथी गएका थियौँ । मैले उक्त चेक दिँदा भिडियो खिच्ने व्यक्ति निजै श्यामकृष्ण श्रेष्ठ हुन् । उक्त दिन निज बेचन झा लाई चेक दिन जाँदा निजसँग मेरो मोबाइलबाट निजको मोबाईलमा कुरा गरेको अडियो रेकर्डहरु २ (दुई) थान र निजलाई चेक दिई सकेपछि भुटानी शरणार्थीहरुको सम्बन्धमा मन्त्रिपरिषदको बैठकबाट निर्णयहरू भए नभएको सम्बन्धमा बुझ्नको लागि निजसँग मैले गरेको फोन सम्वाद रहेको अडियो रेकर्ड थान १ (एक) समेत यसै कागजसाथ पेश गरेको छु । निजले म बाट पाएको चेक कुनै पनि बैंकमा पेस गरेको मलाई जानकारी छैन, तर सो बखत ग्यारेन्टीको लागि भनि मेरो नामको चेक दिएकोमा सो चेक बराबरको रकम अर्का प्रतिवादी हरिभक्त महर्जनबाट यिनै बेचन झा ले नगदै लिएको भन्ने जानकारी म र हरिभक्त महर्जन पक्राउ परि अदालतमा थुनछेकको लागि पेश भएका बखत खाजा ब्रेकको समयमा मलाई हरिभक्त महर्जनले भनेका थिए । निज बेचन झा लाई सनाखत समेत गरी मेरो भएको ब्यहोरा खुलाई दिएको छु, व्यहोरा फरक छैन,’ बयानमा भनिएको छ ।
बेचन–रामशरण भेट र शरणार्थीबारे मन्त्रिपरिषद् निर्णय
२०७८ मंसिर ८ को साँझ भेटअघि र पछि रामशरण केसीले बेचनसँग गरेको टेलिफोन कुराकानी सबै रेकर्ड गरेका थिए । सिधाकुरालाई उनले उपलब्ध गराएको रेकर्ड अनुसार बेचन झाले भेट्न बोलाएको स्थान, मंसिर १३ को आसन्न मन्त्रिपरिषद् बैठक र उक्त बैठकले शरणार्थी लैजानेबारे गर्नेे निर्णय र त्यसपछि भएका निर्णय हुबहु मिल्छ । सिधाकुरालाई प्राप्त अडियोमा बेचनले केसीलाई नयाँ बानेश्वरको ह्वाइटहाउस कलेज नजिकै भेट्न बोलाउँछन् ।
प्राप्त भिडियो र अदालती बयानसमेतमा यो कुरा मेल खान्छ । सो भेटमा चेक दिएपछि १३ मंसिरको मन्त्रिपरिषद् बैठकले शरणार्थी तेस्रो मुलुक लैजानेबारे सरकारले निर्णय गर्ने कुरा बेचनले केसीलाई भनेका हुन्छन् ।
मंसिर १९ मा गृहमन्त्रालयले शरणार्थी पुनःस्थापनाबारे परराष्ट्र मन्त्रालयलाई एक पत्राचार गरेको छ, जसमा बेचन झाले भनेकै १३ मंसिरकै मन्त्रिपरिषद् बैठकले शरणार्थी प्रकरणमा निर्णय ५ बुँदे निर्णय गरेकोबारे परिपत्र गरेको फेला परेको छ ।

चेक दिइसकेपछि के निर्णय भयो भनी रामशरणले पक्का पक्की गर्न गरेको फोन सम्वादको रेकर्ड पनि सिधाकुरालाई प्राप्त छ । उक्त संवादमा पनि बेचनले मन्त्रिपरिषद्ले शरणार्थीबारे निर्णय गर्ने कुरामा आश्वस्त तुल्याएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण र बेचन झा
हाल पुर्पक्षका लागि थुनामा रहेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले बेचन झाबारे मुख खोलेका थिए । पक्राउ परेर अदालतमा पुगेपछि उनले दिएको बयानमा झा नै यो प्रकरणको उच्च राजनीतिक नेक्ससको कडी भएको उल्लेख छ ।

‘विगतदेखिको गतिविधि र हाम्रो कार्यकालमा यस विषयमा सम्पर्कमा आएका व्यक्तिहरूको कनेक्सन हेर्दा शरणार्थाी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको देखिन्छ । मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’
शरणार्थी प्रकरणमा तत्कालिन शेरबहादुर देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँण (हाल धरौटीमा हिरासत मुक्त), हाल पुर्पक्षका लागि हिरासतमा रहेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, एमाले सचिव टोपबहादुर रायमाझि लगायतका उच्च ओहोदाका मानिसहरु पक्राउ परेपछि झा भागेर भारत पसेका थिए । सचिव पाण्डेले बयानमा पोलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । शरणार्थी प्रकरणमा राजनीतिक नेक्ससको नाइने मानिने झा २०८१ असार १४ मा पक्राउ परेपछि यो प्रकणमा उनले सबै आरोपमा इन्कारी बयान दिएका थिए । तर, अदालतमा पीडितले उपलब्ध गराएको फोन संवाद, चेक, भिडियो गायतको प्रमाणपछि झा पुर्पक्षका लागि जेल चलान भएका थिए ।