काठमाडौँ । सरकारसँग न्याय माग्न भन्दै झण्डै एक महिनादेखि लघुवित्त पीडितहरूको समूह काठमाडौँमा छ । काठमाडौँ आएलगत्तै भृकुटी मण्डपमा अस्थायी संरचना बनाएर बसोबास गरेका उनीहरु त्यसपछि शिफल चौर पुगे । सिफल चौरमा केही रात कटाएका उनीहरूलाई स्थानीयको विरोधपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले थापाथलीको कालमोचनघाट परिसरमा सेल्टर तोक्यो ।
बि.स. २०७२ को भूकम्पका कारण २८ वटा मन्दिरसहितको जंग हिरण्य हेमनारायण मन्दिर ध्वस्त भएपछि त्यसको पुननिर्माण अन्तिम अवस्थामा पुगेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समिति अन्तर्गत एशियाली विकास बैंकको सहयोगमा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको मन्दिर परिसरमा काठमाडौँको प्रशासनले पीडितलाई बास बस्न दियो ।
प्राकृतिक दूबोसहित बनाउँदै गरेको चौर र मन्दिरको पाटीमा बसेका पीडित समूहले वरपर भेटिएका दाउरा र काठलाई आगो ताप्ने स्रोतको रुपमा प्रयोग गरे । काठमाडौं महानगरपालिकाका अनुसार सो परिसरमा बसेका पीडितहरूले मन्दिर क्षेत्रको ऐतिहासिक टुँडाल सहितको काठ र झ्याललाई दाउराको रुपमा प्रयोग गरे ।
दरबार र मन्दिर क्षेत्रको पुर्न निर्माणका क्रममा प्रयोग हुनै बाँकी रहेका तथा संरक्षण गर्नु पर्ने किसिमका धेरै काठहरू बालेर पीडितले आगो तापेको पाइएको महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले सिधाकुरालाई बताए । ‘कति त्यस्ता ऐतिहासिक काठ जले भन्ने कुनै हिसाब छैन,’ पाण्डे भन्छन्, ‘पुनर्निर्माण भइरहेको दूबोको चौरमा २ सय ठाउँमा आगो बाल्न खाडल खनिएका छन् । सबै ठाउँमा त्यस्ता काठ बालिएका छन् ।’
महानगरका अनुसार निर्माण सम्पन्न हुनै लाग्दा गुठी संस्थान र महानगर बीच सो मन्दिरको संरक्षण र सञ्चालनका लागि सम्झौता गर्ने तयारी थियो । उक्त क्षेत्रलाई सङ्ग्राहालयका रुपमा सञ्चालन गर्न महानगरले संस्थानलाई प्रस्ताव समेत गरेको थियो । तर, एकाएक ऐतिहासिक काठ र झ्यालहरू नै आगोले बालेको पाइएपछि महानगर प्रहरीले सो काठ खोसेको प्रहरी प्रमुख पाण्डेले बताए । मन्दिर क्षेत्रमा रहेका पुराना र नयाँ काठका साथै दलिनहरू र बुट्टे झ्याल सहितका काठहरू पनि जलाइएको पाण्डेले बताए ।
मन्दिरको संरक्षण गरिरहेका गुठी संस्थानले पनि सरकारले ल्याएर राखिदिएको पीडितका कारण काठहरू जलेको बताएको छ । के कति जल्यो भन्ने यकिन नभए पनि पीडितहरूले झण्डै एक साताको बसाइमा ऐतिहासिक काठहरू बालेको संस्थानका सूचना अधिकृत जनक पोख्रेलले बताए । ‘महाशिवरात्रिको आसपास काठहरू बालिएका रहेछन्,’ पोखरेलले सिधाकुरासँग भने,‘ हामीले भोलिपल्टै थाहा पाएर त्यसलाई रोकेका छौँ ।’
के कति मात्रामा काठहरू जले भन्ने कुनै अभिलेख नरहेको संस्थानले जनाएको छ । महानगर र संस्थान मिलेर अहिले उनीहरूलाई संस्थान परिसरबाट हटाइएको पनि संस्थानले जनाएको छ । वि. सं १९३१ मा थापाथलीस्थित वाग्मती किनारमा उक्त मन्दिर बनाएका थिए । करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर परिसरमा राणाले नारायण, लक्ष्मी र सरस्वतीका मूर्ति स्थापना गरी गुम्बज शैलीमा तीनतले जंग हिरण्य हेमनारायण मन्दिर निर्माण गरेका थिए । माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नाग सहितको गजुर र तेस्रो तल्लाको चारै कुनामा चार सिंह राखी स्थापना गरिएको मन्दिर अगाडि भने जङ्गबहादुरकै पूर्णकदको प्रतिमा छ ।