काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाट पछि भारत र नेपालबीच दीर्घकालीन सम्झौताहरूमा हस्ताक्षर गर्ने छन् ।
दिउसो १ बजे होटल याक एण्ड यतीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्। बैठकमा नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता हुने छ । सम्झौता भएसँगै नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने छ । उक्त सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गर्ने छन् ।
तर यो सम्झौताले कहिले, कति मेगावाट र कति मूल्यमा खरिदबिक्री गर्ने भन्ने लगायतका विषय भने टुंगो लगाउने छैन ।
यस्तै बैठकमा नेपालले बङ्गलादेशलाई विद्युत निर्यात गर्ने विषयमा भारतले सहजीकरण गर्ने विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।
यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनका विषयमा पनि छलफल हुने छ । साथै पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानका लागि हवाई रुटका विषयमा पनि छलफल हुने छ ।
यस्तै भारतले साना पूर्वाधार निर्माणमा दिने अनुदानको सीमा ५ करोडबाट २० करोड पुर्याउने सम्झौतामा पनि हस्ताक्षर हुने छ । परराष्ट्रमन्त्रालयका अनुसार यी दुवै पक्ष मिलेर एजेण्डा तय गरिएकाले बिहीबार हस्ताक्षर हुने छ ।
बैठकमा सहभागी हुन भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायत रहनेछन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगाना सहभागी हुनेछन् । त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि बैठकमा सहभागी हुनेछन् ।