९ भदौ , हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।
गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण उडान भर्न सकेका थिएनन् । आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामाले बताए । बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् ।
हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ । जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ । योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ । नेपालगञ्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले जानकारी दिए ।