काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । दोषी ठहर हुनेमा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता कम्पनी इप्टिसाका टिम लिडर शिवकुमार शर्मा रहेका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुमाथि निर्धारणका लागि लागि अर्को पेशी तोक्न आदेश दिएको छ ।
इजलासले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेल लगायत १० जनालाई सफाई दिएको छ ।
मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा २०८० फागुन ६ गते पूर्व सचिव तथा निर्माण कम्पनी सहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्वसचिव भिम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको थियो । अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको थियो ।
यस्तै तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव तथा तत्कालीन बोर्ड सदस्य पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगो माग दाबी गरेको थियो ।
यस्तै मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाएको थियो ।
तामाङ विरुद्ध अख्तियारले ११ करोड ०९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ बिगो माग दाबी गरेको थियो ।