काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले अधिकारीलाई २ दिन हिरासत राख्न प्रहरीलाई अनुमति दिएको हो ।
पूर्वमन्त्री अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आजै काठमाडौँ ल्याइएको हो । उनलाई आज दिउँसो हवाइजहाजमार्फत काठमाडौँ ल्याइएको हो ।
मानव तस्करीमा मुछिएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियाे । विराटनगर वडा नं. २ स्थित निवासबाट मोरङका प्रहरी उपरीक्षक नारायण चिमोरियाको नेतृत्वको प्रहरी टोलीले पूर्व मन्त्री अधिकारीलाई पक्राउ गरी यति एयरलाइन्सको जहाजबाट काठमाडाैँ ल्याइएकाे हो । काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको र सोही आधारमा पक्राउ गरी काठमाडौँ पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिए ।
नक्कली कागजात बनाई जापान छिर्न खोजेपछि जापानको अध्यागमनले मन्त्री सहित ४ जनालाई डिपोर्ट गरेको थियो । अन्य तीनजना विमानस्थलबाटै पक्राउ परे पनि अधिकारी भने फुत्तिएका थिए । तर समाचार तथा सामाजिक संजालमा सरकारको तिव्र आलोचना भएपछि बल्ल उनी माथि अनुसन्धान सुरु भएको हो । उनीसहित जापानबाट फर्किएका प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सहायक पदको परिचयपत्र बनाएका कञ्चन देवकोटा, जनक राई र वडा सदस्यको परिचयसहित जापान गएका दावा शेर्पा अहिले हिरासतमा छन् । भने तस्करीको योजना बनाउने वीरबहादुर सुनुवार, महेशविक्रम पाण्डे र जुगल रिजाल पनि पक्राउ परेका छन् ।
अधिकारीले मानव तस्करहरुले आफुलाई उपयोग गरी जापान भ्रमण गराउन खोजेको र आफुले नै सूचक भई मानवतस्करको गिरोहलाई पक्राउ गराउन सहयोग गरेको बताउँदै आएका छन् ।