काठमाडौँ । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दशैं पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरुलाई त झनै दसैंको महत्व धेरै हुन्छ । दसैं आएपछि साना केटाकेटीहरु धेरै खुसी हुन्छन् ।
दसैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन छैन । यो प्रचलनबारे खोतल्दै जाँदा धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ । दसैंमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दसैं आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ । चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दसैंताका झरि पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैत बैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।
त्यस्तै दसैंमा स्कूल कलेजहरु धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरुलाई पढाई लेखाईको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाँउदा उनीहरुको खुसीको सीमा नै हुँदैन । दसैंको आगमनसँगै कागेश्वरी मनोहराको कृष्ण मन्दिर क्षेत्रमा चङ्गा उडाउँदै स्थानीय युवा र केटाकेटीहरू ।