काठमाडाैँ । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराउन आदेश दिएको छ । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका प्रसाईँलाई बिहिबार अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको हो ।
प्रसाईँका छोरा निराजन प्रसाईँले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले सो आदेश गरेको हो । पोखरेलको इजलासले सीआईबीलाई महान्यायाधिवक्ता कार्यालयमार्फत २४ घण्टाभित्र लिखित जवाफसहित सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको हो।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी गरेको नक्कली कागज सार्वजनिक गरेपछि प्रसाईंलाई प्रहरीले मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
सो प्रकरणमा काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । सो आदेशहुनासाथ रिहा भएर अदालतबाट बाहिरिने क्रममा उनलाई पुनः सिआईबीले पक्राउ गरेको थियो ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेर उनीमाथि अनुसन्धान गरिरहेको छ । प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।