![]( https://sidhakura.com/content/upload/post_image/hp-hundipng2mkv5cqn4.png)
काठमाडौँ । हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँ सहित ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गएराति पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी नवराज अधिकारीले बताए ।
पक्राउ परेका उनीहरुबाट अवैध रुपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै प्रहरीले उनीहरु भएकै स्थानमा रहेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारबाट स्रोत नखुलेको ६८ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
त्यस्तै प्रहरीले उनीहरुका साथबाट ५ थान चेक, ५ थान मोबाइल र एउटा कार समेत नियन्त्रणमा लिएको छ ।