काठमाडाैँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा एक सय नेपाली घाइते र हराएको उजुरी आएको बताएका छन्।
‘सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन् । यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरु रुसी सरकारसम्म पु¥याउनका लागि स्पष्ट सन्देश दिएका छौँ ।’उनले थपे, ‘मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।’
त्यस्तै उनले रुसी सेनामा भर्तीका लागि नेपाली नजाउन भन्ने उद्धेश्यले सरकारले नो अब्जेक्सन सर्टिफिकेटको अवधारणा ल्याएको समेत बताए । ‘रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरेका छौँ ।दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएका छौँ । यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौँ ।’, मन्त्री साउदले भने ।
त्यस्तै उनले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको जीवन सुरक्षित रहेको बताएका छन् । त्यस्तै आउँदो युद्धविराममा विपिन जोशीलाई छुटाउन सफल हुनेमा आफ्नो दृढ विश्वास रहेको उनले बताए । ‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु ।’, उनले थपे, ‘अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ ।’