काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको आलोचना गरेका छन् ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट अर्थमन्त्रीको र उनको पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरे ।सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्ने भन्दै छलफल नहुँदा बजेट एकपक्षीय भएको बताए ।
बजेटमा रकमको बाँडफाँड पनि एकातिरमात्रै ढल्केजस्तो देखिएको र बजेटको समग्र निर्माण प्रक्रियामा कमी देखिएको धारणा ओलीको छ । बजेटलाई एमालेले स्वीकार गर्ने भन्दै ओलीले मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरू तयार गरि समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरू समाउन नसिकएकाले केही अन्यौल देखिएको बताए ।
बजेटमा अन्य धेरै राम्रा कार्यक्रमहरू आएको भन्दै ओलीले बजेटमा देखिएका कमीलाई औँल्याउदै एमालेले बजेटलाई समर्थन र पारित गर्ने स्पष्ट पारे ।
बजेटमा रहेका आफ्ना मतहरुलाई संसद्मा हुने छलफलका क्रममा स्पष्ट राख्न र पर्याप्त छलफल गर्दै पारित गर्ने वातावरण बनाउन आफ्ना सांसदहरूलाई निर्देशन दिए ।