७ भदाै, काठमाडाै । सिधाकुराले खुलासा गरेको अध्यागमन विभागका महानिर्देशक र ६० किलो सुन तस्करीका नाइके भनिएका दावा छिरिङबीच संवादको विषयमा संसदमा पनि प्रश्न उठेको छ ।
नेकपा एमालेका सांसद सूर्य थापाले आफ्नो मातहतको निकायका महानिर्देशकको संवाद बाहिरिदा गृहमन्त्रीले फिर्ता बोलाए कि बोलाएनन् भनेर प्रश्न गरेका छन् । ‘अध्यागमनका डीजी झलकराम अधिकारी र सुन तस्करीको अभियुक्तको रुपमा राज्यको हिरासतमा रहेका दावाबीचको सार्वजनिक वी–च्याट संवादबारे गृहमन्त्रीको धारणा के हो ?’ उनले प्रश्न गरेका छन् । ‘यो गर्न मिल्ने स्वभाविक काम हो ? मैले भन्सार अध्यागमनमा काम गरेर कसैको चिया समेत नखाने अधिकारीहरुको संगत गरेको छु । यो वी–च्याट सार्वजनिक भएपछि गृहमन्त्रीले फिर्ता गर्नु भयो कि भएन ? सुन समातिएको १ महिना पाँच दिनसम्म भन्सार, सुरक्षाका संलग्न अधिकारीहरु किन फिर्ता गरिएन ? दावाको संवादले सरकारको पोल खोल्दैन र ?’ थापाले सभामुखमार्फत प्रश्न गरे ।
६० किलो सुन प्रकरणमा अध्यागमनका महानिर्देशक झलकराम अधिकारी र दावा छिरिङबीचको संवादको खुलासा गरेको थियो ।
अधिकारीले चीनबाट आएका अवैध सामानको फोटो, भन्सार पासका कागजपत्र दावालाई पठाउने गरेका थिए । अधिकारीले दावालाई पठाएको फोटोमा देखिए जस्तै पानी तान्ने मोटर, टोखामा दावाले बनाएको सुन पगाल्ने उद्योगमा भेटिएको थियो । त्यतिमात्र होइन उनीहरुबीच ठूलो विजनेस(धन्दा) को बारेमा समेत कुराकानी भएको थियो ।
अधिकारीलाई कारोबारमा सहयोग गरेबापत दावाले ठुलै रकम दिने गरेको फरेन्सिक ल्यावमा दावाको फोन रिकभर गर्दा भेटिएको वीच्याट कुराकानीमा देखिएको छ । सिधाकुराले समाचार प्रकाशन गरेपछि अधिकारीलाई मन्त्रालयमा जगेडामा राखिएको छ ।