काठमाडाैँ । रुसी सेनामा भर्ती भएर मृत भएका नेपालीहरुको शव पहिचानका लागि उनीहरुको परिवारको डीएनए परिक्षणका लागि नमुना संकलन गरिएको छ ।
विभिन्न समयमा रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएकाहरुको शव पहिचान गर्नका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परिवारको नमुना संकलन गरिएको हो ।
पररास्ट्र मन्त्रालयका अनुसार गत २४ फागुन मा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन रूसी सरकारले पत्राचार गरेकाे थियाे । साेहीअनुसार उनीहरूकाे परिवारको नमुना परिक्षण गरिएको हो ।
कन्सुलर सेवा विभागले दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डीएनए नमुना संकलन भएकाे जनाएकाे छ । कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइएको छ ।
परराष्ट्र मन्त्रालयका रुसी सेनामा भर्ना भएका १९ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै कन्सुलर विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ जना नेपाली नागरिकका आफन्तले उद्धार तथा खोजी गरिपाउँ भनि निवदेन दिएका छन् ।