
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सिताराम कोइराला कारबाहीमा परेका छन् । मेयर बालेन शाहले निर्णय गर्नुपर्ने विद्यालयको अध्ययन अनुमति सम्बन्धी निर्णय आफैँले गरेको पाइएपछि कारबाही गरिएको महानगर स्रोतले जनाएको छ ।
कोइरालालाई महानगरले आज लिखित स्पष्टीकरण सोधेको र आजैबाट काममा नआउन भनेको महानगर स्रोतले सिधाकुरालाई जानकारी दियो । महानगर स्रोतकाअनुसार काठमाडौँको बानेश्वरमा रहेको रत्नराज्य माविमा विज्ञान अध्यापनका लागि कोइरालाले अनुमति दिएका थिए । उक्त माविलाई सो विषय अध्यापनका लागि नगर शिक्षा समतिले निर्णय गरिसकेको भन्दै विभाग प्रमुख कोइरालाले अनुमति दिएका थिए । कोइरालाको अनुमतिपछि विद्यालयले २२ जना बिद्यार्थीसमेत विज्ञान संकायमा भर्ना गरिसकेको थियो ।
‘नगर शिक्षा समितिका प्रमुखका हैसियतले मेयर शाह आफैँले निर्णय गर्नु पर्ने फाइलबाट कोइरालाले अनुमति जारी गरेको पाइयो,’ महानगर स्रोतले भन्यो, ‘मेयरले गर्ने निर्णयमा आफैँ अनुमति जारी गरेको आन्तरिक अनुसन्धानमा देखिएपछि कोइरालालाई कारबाही अघि बढाइएको हो । उनलाई स्पष्टीकरण सोधिएको छ । बिदामा बस्न भनिएको छ ।’