मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याममा पानीको सतह ह्वात्तै बढेको छ । ड्याममा पानी भरिएपछि प्रशासनले सतर्क रहन आग्रह गरेको छ ।
बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन मकवानपुर जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ । कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न प्रशासनले अनुरोध समेत गरेको छ ।
प्रशासनले सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत सुरक्षित स्थानको पूर्वतयारी गर्न अनुरोध गरेको छ।