
काठमाडौँ । आज पशुपति क्षेत्रमा चाप हुने भएकाले त्यस क्षेत्रका सडक प्रहरीले बन्द गरेको छ । शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले विभिन्न केही रूटहरूको आवागमन बन्द गरेको हो ।
शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक ट्राफिकले बन्द गराएको छ भने कतिपय सडकमा सवारी डाइभर्सन गरिएको छ।
ट्राफिक प्रहरीकाअनुसार बुधबारका लागि चाबहिलबाट गौशाला हुँदै पुरानो बानेश्वरतर्फ जाने मूल सडक बन्द गरिएको छ। त्यस्तै रातोपुल–तिलगंगा खण्ड पनि बन्द गरिएको छ।
मित्रपार्क–गौरीघाट, सिफल–जयबागेश्वरी, गोल्डेनगेट कलेज, काभ्रेडेरी, भीमसेन गोला, सिनामंगल हुँदै गौशालातर्फ आउने भित्री सडकहरू पनि आजका लागि बन्द गरिएको छ। त्यस्तै चाबहिल चोकबाट दक्षिणतर्फ जाने सबै सहायक बाटाहरू पनि बन्द गरिएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै शिवरात्रि पर्वकै लागि नेपाल प्रहरीले पार्किङकोसमेत व्यवस्थापन गरेको छ।