ढोरपाटन । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।
वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, सिलाम, तोरी, ठूलोकरेला लगाउने गरेका छन् ।
किसानहरुका अनुसार यस क्षेत्रमा लगाएको सयौँ रोपनी क्षेत्रफलको फापर बालीमा असिनापानीले क्षति पुर्याएको छ । भर्खर दाना लाग्न लागेको फापर असिनाले झारिदिएपछि कृषक चिन्तित छन् ।
हावाहुरीसहितको वर्षाले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट र निसीखोलाको विभिन्न स्थानमा लगाइएको धानबालीमा पनि क्षति पुर्याएको छ ।
बागलुङ नगरपालिका–३ खहरेमा पाक्न लागेको धानबाली ढलेर भुइँभरि भएको स्थानीय सरोज कार्कीले बताए ।
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश सिलवालले यो बेलाको वर्षाले धान, कादो, भटमासलगायतका बालीमा क्षति पुर्याएको बताए ।