काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन गृहमन्त्री लामिछानेलाई निर्देशन समेत दिएका छन् ।
साथै प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि सम्बन्धी निकायसँग समन्वय गरि तत्काल काम अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै गृहमन्त्रालय पुगेको गृहमन्त्री लामिछानेले आजैबाट प्रतिवेदन कार्यान्वयन थालेका छन् ।
अहिले गृह सचिव र प्रहरी प्रमुखसँगको परामर्शमा रहेको गृह मन्त्रालयले जनाएको छ ।
बिहीबार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग अध्यक्ष डिल्लीराज आचार्यले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । सरकारले पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गत असोज १५ गते अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।