भदौ ८, ललितपुर - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए।
‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमजनता यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,’ माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने ।
सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उनले दाबी गरे । ‘भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ । सरकार र गृह मन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर, भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,’ उनले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरव्याजसम्बन्धी समस्या समाधान गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचार विरोधी कदमकै निरन्तरता रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने बताए ।
त्यस्तै उक्त कार्यक्रमको अवसरमा एक सय ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टी प्रवेश गर्ने सबैलाई आत्मसम्मानमा ठेस नपुग्ने गरी जिम्मेवारी दिइने प्रस्ट पारे।
‘श्रमजीवि जनता र राष्ट्रिय हितको पक्षमा माओवादीले चलाएको अभियानबाट प्रभावित भएर पार्टी प्रवेश गर्ने श्रमजीवि साथीहरूको निर्णय सही छ । तपाईँहरूले सही निर्णय गर्नुभएको छ । यहाँहरूको चाहना र भावना माओवादीले पूरा गर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भ, ने, ‘तपाईँहरुको आत्मसम्मान हुने गरी जिम्मेवारी दिइन्छ । सरकारले सुरू गरेको भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा तपाईँहरु पनि सहभागी हुनुस्, हामी स्वागत गर्छौँ ।’
कार्यक्रममा माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेलले पार्टी प्रवेश गर्नेहरूलाई पार्टीले उचित जिम्मेवारी दिइने बताए ।