काठमाडौँ । मंगलबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय बाट जिल्ला अदालत काठमाडौं पुर्याइएको छ । प्रसाईँलाई मंगलबार प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो ।
प्रसाईँले नक्कली डकुमेन्ट बनाएर सामाजिक सञ्जालमा भ्रम छरेको भन्दै उनलाई पक्राउ गरिएको हो । नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, “प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।”
दुर्गा प्रसाईंले सोमबार निज निवासमा पत्रकार सम्मेलन गर्दै केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफ्नो फेसबुक अकाउन्टमार्फत सो अभिव्यक्तिलाई पुष्टि गर्न केही कागजात समावेश गरेर भिडियो सामाग्री बनाएर अपलोड गरेका थिए ।