१७ भदौ, काठमाडौं - नेपाल प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट सञ्चालनमा ल्याएको छ।
आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले udb.nepalpolice.gov.np वेबसाइटको उद्घाटन गरेका हुन्।
दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकेका बेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले उक्त वेबसाइट संचालनमा ल्याइएको हो ।
उक्त वेबसाइट नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातावरण सिर्जना गर्ने प्रहरीको योजना छ ।