
काठमाडौँ । साथीको शङ्कास्पद मृत्युको कारण माग गर्दा दमन व्यहोरेका एक हजार नेपाली विद्यार्थी भारतबाट नेपाल फर्किदै छन् । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) बाट निकालिएका नेपाली विद्यार्थीहरू सुरक्षा खोज्दै नेपाल फर्किएका हुन् ।
केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत भेटिएकी थिइन । उनको मृत्यु शङ्कास्पद रहेको भन्दै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनसँग छानबिन माग गरेका थिए । तर,लम्सालको मृत्यु प्रकरण ढाकछोप गर्न विश्वविद्यालयले उल्टै नेपाली विद्यार्थीमाथि गुण्डा प्रयोग गरेर कुटपिट गरेर कलेजबाट निस्कासन गरेको थियो ।
यसरी कलेजबाट निष्कासित भएका १५ सय मध्ये एक हजार विद्यार्थीहरू अहिले नेपाल फर्किरहेका छन् । सरकारी तवरबाट कलेज फिर्ता हुने र सुरक्षाको कुनै प्रत्याभूति नभएपछि विद्यार्थीहरू १० दिन पछिको परीक्षा छोडेर नेपाल फर्किँदैछन् ।
सिधाकुरासँग मङ्गलबार बिहान सम्पर्कमा आएका विद्यार्थीहरूको एक समूहले आफूहरू गोरखपुरका लागि हिँड्न लागेको बताए । ‘हामीलाई मनमा डर छ, गोजी रित्तो छ । आफ्नै घर फर्किन पाए हुन्थ्यो भनेर आउँदैछौँ,’ उनीहरूले भने ।
१० दिन पछिको परीक्षाको तयारी गरिरहेको बेला भएको घटनाले शैक्षिक भविष्य नै अन्यौलमा परेको उनीहरूले बताएका छन् । त्यसो त चौतर्फी दबाबपछि रेल स्टेसनमा छोडिएका नेपाली विद्यार्थीहरू क्याम्पसमा फर्काउन भारतीय प्रहरीहरू आएको त्यहाँस्थित नेपाली विद्यार्थीहरूले बताएका छन् । सुरक्षाको कुनै सुनिश्चितता नभई प्रहरीले फर्क मात्रै भनेर भनको कारण आफूहरू फर्किन नसकेको ति नेपाली विद्यार्थी बताउँछन् ।
सोमबार साँझ विश्वविद्यालय फर्किएका एक विद्यार्थीकाअनुसार उनी लगायतलाई कलेज प्रशासनले एक चार बुँदे सर्तसहितको फर्म भर्न लगाएको छ । उक्त फर्ममा कलेजको अनुशासन भङ्ग हुन कुनैपनि काममा संलग्न नहुने उल्लेख छ । जसरी पनि प्रकृति लम्साल प्रकरण दबाउन क्याम्पस प्रशासन लागेको ति विद्यार्थी बताउँछन् ।
उडिसा नेपाली विद्यार्थी मृत्यु प्रकरणः फेरि होस्टल फर्कन डराइरहेका छन् नेपाली विद्यार्थी
केआईआईटीको घटना के हो ?
भारतको उडिसा (भुवनेश्वर) मा रहेको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत एक नेपाली छात्रा आइतबार हेस्टेलमा मृत भेटिएकी थिइन । मृत भेटिएकी छात्रा बुटवलकी प्रकृति लम्साल हुन् ।
प्रकृति बि टेक सीएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजमा १५ सय भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको बताईएको छ । सोही कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार प्रकृतिको मृत्यु रहस्यमय छ । उनको मृत्युपछि कलेज प्रशासनले देखाएको चरित्र झनै शङ्कास्पद भएको उनको भनाई छ ।
ति विधार्थीका अनुसार प्रकृति मृत भेटिएको दिन कलेजमा कार्यक्रम आयोजना गरिएको थियो सबै विद्यार्थीहरू त्यतै व्यवस्त भए । ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर उनीहरूले सुने । ‘खबर सुनेपछि हामी उक्त होस्टलको बिल्डिङतर्फ लाग्यौँ । त्यहाँ पुग्दा प्रकृतिले आत्महत्या गरेको भनियो । तर, उनको अवस्थाबारे कसैलाई थाहा दिइएन, उनले भने, ‘सोही कलेजमा प्रकृतिका दाइहरु पनि अध्ययन गर्छन् । तर उनीहरुलाई पनि प्रकृतिको शव देखाइएन ।’ नेपाली विद्यार्थीहरू प्रशासनसँग मृत्युको जवाफ मागिरहेका थिए । सोही क्रममा ह्वाट्उसएप ग्रुपमा खबर फैलियो, ‘उनलाई एउटा केटाले निकै दुःख दिइरहेको थियो ।’
उनीहरुका अनुसार कसैलाई पनि शव र घटनास्थल नदेखाई विश्वविद्यालयकै अस्पतालमा लगेर मृत घोषण गरिएको थियो । उक्त खबर र प्रशासनले केसलाई ढाकछोप गरिरहेको देखेपछि नेपाली विद्यार्थीहरुले नजिकै रहेको इन्फो सिटी प्रहरीमा उजुरी दर्ता गराए र कलेजको ग्राउण्डमा शान्तिपूर्ण प्रदर्शन गर्न थाले ।
नेपाली विद्यार्थीहरू प्रर्दशनमा उत्रिएपछि कलेजका भाइस चान्सलरले उनीहरुलाई धम्की दिन थालेको एक नेपाली विद्यार्थी बताउँछन् ।
‘हामीलाई भाइस चान्सलरले रेस्टिकेट गरिदिने, फेल गराईदिने र कलेजबाट निकालेर घर फकाईदिने धम्की दिए । हामीले राति १ बजेसम्म प्रोटेस्ट गरेका थियौँ,’ ति विद्यार्थाीले भने । आइतबार साँझाबाट सुरु भएको तनाव रातभरी जारिरह्यो र सोमबार बिहानै सबै नेपाली बिद्यार्थीहरुलाई कलेजको होस्टलबाट दुर्व्यवहार गर्दै निकालियो ।
भुवनेश्वरमा रहेका नेपाली विद्यार्थीहरुकाअनुसार करिब २०० नेपाली बिद्यार्थीलाई जबरजस्ती होस्टलबाट निकालेर बिभिन्न स्थानका रेल स्टेसन र तथा बसपार्कहरुमा लगेर छाडिएको थियो ।
भुवनेस्वरको रेलवे स्टेसनमा छाडिएका एक विद्यार्थीले सिधाकुरालाई बताएअनुसार फाउन्डरकै निर्देशनमा विद्यार्थीहरू होस्टलबाट निकालिएको हो । ‘हामीलाई होस्टलमा अपशब्द बोल्दै गाली गरियो । कुटपिट गर्दै हाम्रो मोबाइल खोसेर त्यहाँ भएका फोटो भिडियोहरु डिलिट गरियो । त्यसपछि अहिले भुवनेश्वर रेलवेस्टेसनमा छाडियो’ ति नेपाली विद्यार्थीले सिधाकुरासँग भने ।
अर्का एक बिद्यार्थीका अनुसार उक्त कलेजमा अध्ययनरत सबै नेपाली बिद्यार्थीमाथि दुव्र्यवहार गरिएको छ । सबैलाई फरक फरक रेलवेस्टेसनमा छोडिएको छ । प्रकृतिको शङ्कास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे भारतस्थित नेपाली दूताबासलाई समेत जानकारी गराएको तर दूताबासबाट कुनै सहयोग नभएको उनीहरुको आरोप छ ।
बुबा पुगे उडिसा
प्रकृति लम्सालको घर बुटवल हो । उनका मामा नाता पर्ने राजन पोखरेलकाअनुसार लम्साल परिवार काठमाडौँको धुम्बाराही बस्दथे । प्रकृतिले युनिग्लोब कलेजबाट विज्ञान सङ्कायमा १२ पास गरेपछि पढ्न भारत गएकी थिइन । तर, आइतबार साँझको अप्रिय घटनापछि परिवार नै वियोगको पीडामा परेको छ । छोरीको अप्रिय घटना सुनेपछि काठमाडौँबाट परिवारलाई नै बुटवल ल्याइएको र बुबा अहिले उडिसा पुग्नु भएको नातामा मामा पर्ने पोखरेलले सिधाकुरालाई बताए । ‘परिवारका एक छोरी र एक छोरासहित बाबुआमा काठमाडौँ बस्नु हुन्थ्यो,’ मामा पोखरेल भन्छन्,‘अब ठूली छोरीको वियोग प¥यो । आमालाई परिवारका साथ बुटवलमा राखिएको छ । बुबा आफन्तसहित उडिसा जानु भएको छ ।’
उच्च शिक्षाको सुनौलो सपना बोकेर भारत गएकी चेलीको यो खालको अप्रिय घटनाले विक्षिप्त बनेको पोखरेलले बताए । दुःखको घडीमा सरकारबाट उचित पहल नभएको भन्दै उनले चिन्ता पनि व्यक्ति गरे ।
नेपालमा आक्रोश
भारतमा उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी माथी भएको ज्यादती विरुद्ध नेपालमा पनि आक्रोश पैदा भएको छ । भारतमा रहेको नेपाली विद्यार्थीको सुरक्षा र घटनाको निष्पक्ष छानबिन माग गर्दै सदन देखि सडकसम्म तातेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवम् पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले संसदमा विषेश समयमा यो विषय उठाउन खोजेकी थिइन । तर, संसदमा समय नपाएपछि उनले संसद छोडर बाहिर निश्किएर यो विषयबारे सञ्चारकर्मीसँग कुरा गरिन् । उनले यो घटनामा सरकारले तत्काल कुटनीति पहल थाल्न, घटनाको निश्पक्ष छानबिन र नेपाली बिद्यार्थीहरुलाई विश्वविद्यँलयमा फर्केर पढ्ने वातावरण बनाउन माग गरिन् ।
नेपाली विद्यार्थीमाथि भएको ज्याजतीको बिरोधमा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले नेपालस्थित भारतीय दूतावास लैनचौर अघि सोमबार र मंगलबार प्रर्दशन गरेको छ । भारतीय दूतावास अगाडीे भएको बिरोध प्रर्दश्नमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।
कति भयो कुटनीतिक पहल ?
भारतमा नेपाली विद्यार्थीमाथि भएको ज्याजति सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा कुटनीतिक पहल थालेको दाबी गरेका छन् । विश्वविद्यालयको घटनामा आफूलाई जानकारी भएको बताएउँदै उनले उक्त विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको बताए ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’ प्रधानमन्त्रीले यो जानकारी एक्स मार्फत दिएका हु्न् ।
त्यसो त भारतमा रहेका नेपाली दूतावासले यो घटनाबारे समयमै पहल नगरेको भन्दै नेपाली विद्यार्थी आक्रोशित छन् । तर, सोमबार साँझ एक विज्ञप्ति जारी गरेर दिल्ली दूतावासले आवश्यक पहल गरिरहेको दाबी गरेको छ ।
दूताबासले उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त हुनासाथ उक्त शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरुसँग छलफल गरेको दाबी गरेको छ ।
उक्त छलफलमा राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको जनाइएको छ ।
त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको पनि दूतावासको विज्ञप्तिमा भनिएको छ ।
‘दूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएको र शैक्षिक संस्थाले पनि गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको’विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ ।’
भारतीय दूतावासद्वारा दुःख व्यक्त
भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ । दूतावासले ओडिसा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । कलिङ्गा इन्स्टिच्युटले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्राबासमा बस्न अपिल गरेको छ ।
कलिङ्गा इन्स्टिच्युटले विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको दूतावासले जनाएको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै दूतावासले भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ ।
कलेज फर्किन विद्यार्थीलाई अपिल
चौतर्फी दबाब पछि कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीका रजिष्ट्रारले एक विज्ञप्त जारी गर्दै विद्यार्थीहरुलाई कलेज फिर्किन आग्रह गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको भन्दै विश्वविद्यालयले बिद्यार्थीहरुलाई क्याम्पस फर्किन र कक्षालाई निरन्तरता दिन आग्रह गरेको हो । विश्वविद्यालयको अपिलमा विद्यार्थीमाथि भएको दुव्र्यवहारबारेमा भने केही उल्लेख गरिएको छैन् ।
त्यसो त सोमबार साँझ केही विद्यार्थीहरू क्याम्पस फर्किएका थिए । तर,उनीहरुलाई होस्टलमा बस्न नदिइएको त्यहाँबाट नेपाली विद्यार्थीीहरुले जानकारी दिएका छन् । सोमबार देखि सडकमा अलपत्त परेका नेपाली विद्यार्थीहरू अहिले आफन्तहरुको साथ खोज्दै घर फर्किइरहेका छन् ।
नेपाली विद्यार्थीमाथिको अत्याचारमा भारतीय विद्यार्थीहरुले पनि साथ दिएका छन् । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (BJP) समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ । उनीहरूले प्रहरीसमक्ष नेपाली विद्यार्थीको सुरक्षा र घटनाको निश्पक्ष छानबिनको पनि माग गरेका छन् ।