संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो चारदिने भ्रमणका क्रममा आइतबार राती १ बजे नेपाल आइपुगेका छन् । गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे ।
पोर्चुगलका पूर्वप्रधानमन्त्री रहेका महासचिव गुटेरेसलाई संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भ्रमणको निम्तो दिएका थिए । महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो ।
महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य रहेको बताईएको छ ।
महासचिव गुटेरेसले आइतबार परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् ।
लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सिहंदबारमा सामूहिक भेटवार्ता गर्नेछन् । त्यसपछी महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् भने त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सहभागी हुने छन् ।
सोमबार भने महासचिव गुटेरेस सोलुखुम्बु पुग्ने छन् । जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्ने जनाइएको छ ।
त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ ।
कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन् ।
लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन् । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कीेने छन् ।