२० भदाै, काठमाडौं - गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ ।
नागरिकता नियमावली मन्त्रिपरिषदबाट पारित भएसँगै गैरआवासीय नेपाली (एनआरएन) ले पनि नेपाली नागरिकता पाउने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै नागरिकता ऐन, २०६३ संशोधन भएको थियो ।
ऐन जारी भएलगत्तै २०७२ भन्दा अघि जन्मका आधारमा नेपालमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने विषय कार्यान्वयनमा गएको थियो तर उक्त नियमावली नहुँदा अन्य नयाँ प्रावधान भने रोकिएका थिए ।
तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेसँगै एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।
मन्त्रिपरिषदबाट उक्त नियमावली पारित भएपनि यसको औपचारिक जानकारी भने सरकारले सार्वजनिक गरेको छैन ।
यो नियमावली पास भएसँगै खासगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकले नेपाली नागरिकता पाउने छन् ।
गैरआवासी नेपालीले यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न पाए पनि राजनीति गर्न, सरकारी जागिर खान वा नियुक्ति खान भने पाइने छैन ।
नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर अहिले भने नागरिकतासम्बन्धी नियमावली नै मन्त्रिपरिषदबाट पारित भएको हो ।