काठमाडाैँ । प्रतिनिधिसभा सदस्य हसिना खानले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकीले उनलाई सभामुख देवराज घिमिरे सपथ गराएका हुन् । सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरेका छन् ।
सांसद खान जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी हुन् । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो ।
जसपाको सिफारिस र आयाेगकाे जानकारीका आधारमा सभामुखले उनलाई शुक्रबार सिंहदरबारमा सपथ गराएका हुन् ।
सङ्घीय संसदको कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सो अवसरमा सचिवालयको तर्फबाट सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजातहरु उपलब्ध गराएका छन् ।
स्नातक तहसम्म अध्ययन गरेकी सांसद खान २९ वर्षकी भइन् । सपथ लिएपछि उनले भनिन्, “सांसदलाई कानुन तोकेको जिम्मेवारी पूरा गर्न र खासगरी महिलाको मुद्धा प्रभावकारी रुपमा उठाउने प्रयन्त गर्नेछु ।”