काठमाडौँ । बुधबार दिउँसो नेपाली आकाशले अर्को एक दुखद् हवाई दुर्घटना ब्याेहोर्यो । त्रिभुवन विमानस्थलमै साउन ९ गते भएको सौर्य एयरको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएको दुई साता नपुग्दै विमानस्थलबाट केही किलोमिटरको दूरीमा रहेको काठमाडौँ र नुवाकोटको सीमा क्षेत्र सुर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा पर्यो ।
भक्तपुरको नलिञ्चोकबाट उडेको हेलिकप्टर ३ मिनेटमै सम्पर्कविच्छेद भएपनि खोजी भने ४५ मिनेटपछि मात्रै थालियो । दुर्घटनामा परी चालकसहित हेलिकप्टरमा सवार चार जना पर्यटकले ज्यान गुमाएका छन् ।
दुर्घटनाको पुष्टि लगत्तै सिधाकुराका ४ जना प्रतिनिधिहरू काठमाडौँबाट घटनास्थलमा पुगेका थिए । उनीहरूले घटनास्थलमा के के देखे यहाँ उल्लेख गरेका छौँ ।
काठमाडौँबाट सिधाकुराका प्रतिनिधिहरू लक्ष्मण गिरी, उत्तम प्याकुरेल , विजय सापकोटा र दिपेन्द्र थापामगर घटनास्थल पुगेका थिए । उनीहरुले देखेको घटनास्थलमा पहिले हेलिकप्टर जमिनमा बजारिएर घस्रिँदै १५० मिटर पर पुगेर काँडा घारीमा आगलागीमा परेको देखिन्छ । घना जङ्गलको बीचमा रहेको ढिस्कोमा ठोक्किएर जहाज झाडी फाँड्दै घस्रिएर गएर जलेको देखिएको सिधाकुरा सम्वाददाता विजय सापकोटा बताउँछन् ।
पहिलो पटक हेलिकप्टर ठोक्किएको ठाउँमै कानमा लगाउने हेडसेट, यात्रुका जुत्ता लगायतका सरसामानहरु झरेको देखिएको सापकोटाले बताए । यस्तै, घस्रिएको ठाउँबाट हेलिकप्टर जलेको ठाउँसम्म हेलीका विभिन्न पार्ट पुर्जाहरु छरिएर रहेको तर आगो नलागेको भेटिएको सिधाकुराका अर्का सम्वाददाता लक्ष्मण गिरी बताउँछन् ।
'जहाज ठोक्किएको ठाउँमै इन्धन पोखिएको छ तर पनि मुख्य पार्टस पुगेको ठाउँमा दनदनी हेली जलेको पाइयो,’ गिरी आफ्नो स्थलगत अनुभव सुनाउँछन् ।
स्थानीयहरूको कुरा गराई र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूको कुराकानीअनुसार हेलिकप्टर प्रतिकुल मौसमको चपेटामा परेको हुनसक्ने देखिएको सिधाकुराका घटनास्थल पुगेका सम्वाददाता उत्तम प्याकुरेल बताउँछन् । हुस्सुले ढाकेको डाँडामा हेलिकप्टरले बाटो बिराएर रुखमा ठोक्किएर दुर्घटनामा परेको देखिएको उनी बताउँछन् ।