१३ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग गरेका छन् । भन्सार विभागका महानिर्देशक मंगलबार पत्र लेख्दै उनीहरुले सरुवाको माग गरेका हुन् ।
पत्रमा उनीहरुले ६० किलो सुन भन्सार चोरी र छली जाँचपास भएको भन्ने घटना पश्चात् बिभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा आफूहरुलाई विनाकारण दुःख दिने तथा मानसिक क्षतविक्षत बनाउने कार्य भएको भएको उल्लेख गरेका छन् ।
उनीहरुले पत्रमा लेखेका छन्, ‘दोषी जो कोहीलाई कारबाही गरियोस् भन्नेमा द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको एथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुखः दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई काम गर्न त्रास उत्पन्न भएको छ ।’
साथै उनीहरुले बिनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने अवस्था आएको बताएका छन् ।